लैजाउन न मलाई तिम्रो गाउँ

  • मेरो जिल्ला
  • / कला/संस्कृति /
  • २०८२ चैत्र ८, आईतबार (३ हप्ता अघि)
  • २०५ पटक पढिएको

लैजाउन न मलाई तिम्रो गाउँ

झरना चन्द अर्पन
लैजाउ न घुमाउन तिम्रो गाउँ,
मन भुल्ने हरियाली छाउँछ जहाँ
शहरको भीड र कोलाहल छोडेर
शान्ति भेटिन्छ त्यही डाँडाकाँडाको छेउ।
बिहानीको घामले मुस्काउँदै स्वागत गर्छ,
शीतका थोपा घाँसमा मोतीझैँ टल्किन्छ,
त्यो ताजा हावाको स्पर्शले
मनभित्रै नयाँ उमंग पलाउँछ।
गुराँस फुलेको रातो मुस्कान जस्तै,
पहाडले ओढेको लाली शान जस्तै,
हावाले बिस्तारै कानमा भन्छ –
“यहाँ छ सुख, यहाँ छ जीवन साँचो जस्तो।”
काँडाकाँडामा हिँड्दा थकाइ हराउँछ,
चराको गीतले मनै रमाउँछ,
खोला बग्छ कलकल गर्दै
दुःख सबै बगाएर लैजान्छ।
रुखको छायाँमा बसी आराम गर्दा,
आफ्नै मुटुको धड्कन सुनिन्छ,
त्यो शान्त वातावरणभित्र
जीवनको असली अर्थ बुझिन्छ।
आमाको आँगन, ढुंगे बाटो,
धुवाँ उठेको चुलोको मिठो गन्ध,
त्यो गाउँ सम्झिँदा मात्र पनि
मन भरिन्छ माया र आनन्द।
बुढाबुढीको कथामा बितेको समय,
सानासाना बालकको हाँसोमा भविष्य,
त्यो सरल जीवनको रङभित्र
लुकेको हुन्छ साँचो खुशी।
साँझ पर्न लाग्दा गोधूलीको रंग,
गाईबस्तु फर्किने त्यो मधुर क्षण,
ढोलक र मादलको आवाजसँगै
गाउँभरि गुञ्जिन्छ खुशीको धुन।
आकाशभरि टल्किने तारा हेर्दा,
आफ्नै सपना झल्किन्छ आँखामा,
त्यो शान्त रातको काखभित्र
मन हराउँछ आफ्नै भावनामा।
लेजाउँ न एकचोटि मलाई तिम्रो गाउँ,
म पनि गुराँससँग हाँस्न चाहन्छु,
यो शहरको थकाइ बिसाउँदै
पहाडको काखमा तिमी सङै हराउन चाहन्छु।
त्यो मायालु गाउँको अँगालोमा
आफ्नैपनको न्यानो महसुस गर्न,
फेरि एकचोटि बाल्यकाल झैँ
निश्चिन्त भएर बाँच्न चाहन्छु।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली