मेरी आमा

  • मेरो जिल्ला
  • / कला/संस्कृति /
  • २०८३ श्रावण २४, आईतबार (३ हप्ता अघि)
  • २०३ पटक पढिएको

मेरी आमा

मेरी आमा।
आमा,
तिम्रो जीवनको कथा लेख्न बस्दा
सायद एउटा जिन्दगी नै छोटो हुन्छ।
किनकि तिम्रो कथामा
माया छ, त्याग छ, आँसु छन्,
संघर्ष छ अनि
सन्तानको खुसीका लागि
आफूलाई बिर्सिएको एउटा आमाको जीवन छ। ❤️
चार जना दादाहरूको पछि
म तिम्रो जीवनमा छोरी बनेर आएँ।
सायद मेरो आगमनले
हाम्रो घरमा एउटा नयाँ खुसी थपेको थियो होला,
तिम्रा आँखाले एउटा नयाँ सपना देखेका थिए होलान्।
चार दादाहरूको बीचमा हुर्किएकी म,
तिम्रो काखमा बसेर
छोरी हुनुको अर्थ सिक्दै गएँ।
मलाई अझै याद छ आमा,
तिम्रो काखमा टाउको राख्दा
संसारका सबै दुःख बिर्सिएजस्तो हुन्थ्यो।
तिम्रो हातले टाउको सुम्सुम्याउँदा
मनमा एउटा छुट्टै शान्ति मिल्थ्यो।
तिमीले दिएको एउटा मुस्कानले
मेरो दिन उज्यालो हुन्थ्यो।
तर त्यो मुस्कानको पछाडि
कति दुःख लुकेका थिए,
मैले त्यतिबेला बुझिनँ।
तिमीले आफ्नो पेट काटेर
हामीलाई खुवायौ,
आफ्नो रहर त्यागेर
हाम्रा रहर पूरा गर्‍यौ।
आफू थाकेर पनि
हामीलाई थाक्न दिइनौ,
आफू रोएर पनि
हामीलाई रुन दिइनौ।
आमा,
आज म ठूली भएकी छु।
जीवन बुझ्दैछु,
मान्छे चिन्दैछु,
समयको मूल्य बुझ्दैछु।
अनि अहिले आएर
तिम्रो हरेक दुःखको अर्थ बुझ्दैछु।
आज म पनि संघर्ष गर्दैछु आमा।
आफ्नो भविष्य बनाउन,
आफ्नो पहिचान बनाउन,
आफ्नो सपना पूरा गर्न
दिनरात अघि बढिरहेकी छु।
कहिले बाटो सजिलो लाग्छ,
कहिले आफ्नै कदम भारी हुन्छन्।
कहिले मन थाक्छ,
कहिले आँखामा आँसु आउँछ,
कहिले लाग्छ
‘अब सक्दिनँ होला।’
तर त्यही बेला
तिम्रो अनुहार सम्झिन्छु।
तिमीले जीवनभर
हाम्रा लागि गरेको संघर्ष सम्झिन्छु।
अनि आफैँलाई भन्छु(
‘मेरी आमा यति धेरै दुःख सहेर पनि हारिनन् भने,
म कसरी हार्न सक्छु ररु’ ❤️
म अहिले संघर्षको बाटोमा छु आमा,
तर मेरो सपना ठूलो छ।
एक दिन यस्तो समय ल्याउन चाहन्छु
जहाँ तिमीले आफ्नो जीवनभरको दुःख बिर्सेर
मलाई हेरेर गर्व गर्न सकु।
तिमीले अरूका लागि
जति आँसु बगायौ,
अब तिम्रा आँखामा
खुसीका आँसु मात्रै देख्न चाहन्छु।
तिमीले मलाई
‘छोरी भएर जन्मेकी’ भनेर होइन,
‘केही गर्न सक्ने मान्छे’ भनेर हुर्कायौ।
त्यसैले आज म लडिरहेकी छु,
गर्दैछु, सिक्दैछु,
हार्दैछु अनि फेरि उठ्दैछु।
कहिलेकाहीँ लाग्छ,
मेरो संघर्ष धेरै ठूलो छ।
तर तिम्रो जीवन सम्झिँदा
मेरो संघर्ष सानो लाग्छ।
तिमीले त हामीलाई हुर्काउँदा
आफ्नो सम्पूर्ण जीवन नै संघर्षमा बितायौ।
आमा,
म एउटी छोरी हुँ।
भोलि मेरो आफ्नै घर होला,
आफ्नै जिम्मेवारी होला,
सायद म तिमीबाट टाढा पनि हुनुपर्ला।
तर मेरो मनको एउटा कुनामा
तिमी सधैँ त्यहीँ हुनेछौ जहाँ
मेरो पहिलो घर बनेर,
मेरो पहिलो माया बनेर,
मेरो सबैभन्दा ठूलो शक्ति बनेर। ❤️
मलाई थाहा छैन
म जीवनमा कति सफल हुन्छु,
कति टाढा पुग्छु,
कति सपना पूरा गर्न सक्छु।
तर यति चाहिँ थाहा छ(
मेरो सफलताको सबैभन्दा ठूलो खुसी
तिम्रो आँखामा देख्न चाहन्छु।
हार्दा फेरि सुरु गर्ने हिम्मत दिएकी हौ
तर आमाको आशीर्वाद साथमा छ।
त्यसैले एक दिन अवश्य जित्नेछु। ❤️
तिमीले मलाई जति माया दिएकी छौ,
त्यो माया पाएर
म आफूलाई संसारकै भाग्यमानी छोरी ठान्छु।
तिमी छौ,
त्यसैले मेरो संघर्षमा आशा छ।
तिमी छौ,
त्यसैले मेरो सपनामा विश्वास छ।
तिमी छौ,
त्यसैले म अझै हार मानेकी छैन।
मेरी आमा,
तिमी मेरो जीवनको त्यो शक्ति हौ,
जसलाई सम्झिँदा
थाकेको छोरीले पनि
फेरि उठेर हिँड्ने हिम्मत पाउँछ। ❤️🥹

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली