
माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि सल्यानमा विभिन्न परीक्षा केन्द्रका लागि नियुक्त केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई, सल्यानले एसइई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । केन्द्राध्यक्षहरूलाई परीक्षा सञ्चालन, प्रश्नपत्र ढुवानी, तथा परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा तालिम दिइएको शिक्षा विकास तथा समन्वय इकाई, सल्यानका प्रमुख शेरबहादुर रोकाले जानकारी दिनुभयो । माध्यमिक शिक्षा परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका १० पालिकामा रहेका १९ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूको सहभागिता रहेको थियो । समन्वय इकाई प्रमुख रोकाका अनुसार सबै केन्द्राध्यक्षहरूलाई जिल्लामै बोलाएर अभिमुखीकरण गरिएको हो ।

उहाँले परीक्षा सञ्चालन निर्देशिका बमोजिम निष्पक्ष, मर्यादित र व्यवस्थित वातावरणमा परीक्षा सञ्चालन गर्न निर्देशन दिइएको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सापकोटाले केन्द्राध्यक्षहरूले अनुशासित र जिम्मेवार ढंगले आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले परीक्षामा कुनै पनि त्रुटि भेटिएमा क्षमायोग्य नहुने स्पष्ट पार्नुभयो । त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी डा. हेमबहादुर केसीले परीक्षालाई जिम्मेवार र मर्यादित ढंगले सञ्चालन गर्न सुरक्षा निकायले पूर्ण सहयोग गर्ने बताउनुभयो । परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
अभिमुखीकरण कार्यक्रममा केन्द्राध्यक्षहरूलाई परीक्षा सञ्चालनका लागि आवश्यक सामग्री समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, र परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूको सहभागिता रहेको थियो । माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ गतेदेखि सुरु हुँदैछ। यस वर्ष सल्यानबाट नियमित, प्राविधिक धार र ग्रेडवृद्धि सहित ४,३९७ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र कार्यालय सहयोगी गरी ४२७ जना कर्मचारी खटिने छन् भने प्रत्येक केन्द्रमा १५ जनाका दरले सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।
