
कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरू र प्रधानमन्त्री बालेन्द्र शाह बिच भेटघाट भएको छ ।सोमबार प्रधानमन्त्रीको निमन्त्रणामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरूले कर्णालीका समसामयिक विषयमा जानकारी गराएका हुन। उनिहरुले प्रदेशको समग्र विकासका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन्। छलफलमा सहभागी सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले शासकीय सुधार, भौतिक पूर्वाधार निर्माण, जाजरकोट भूकम्पपछिको राहत तथा पुनर्निर्माण र मनसुनपूर्व तयारीलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। सल्यानबाट प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लका अनुसार कर्णाली, भेरी–राप्ती करिडोर, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग र लुम्बिनी–रारा लोकमार्गलगायतका सडक आयोजनाको तीव्र विकास गर्नुपर्नेमा जोड दिइएको थियो। त्यसैगरी स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, मातृ–शिशु पोषण सुधार तथा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण कार्यलाई अघि बढाउनुपर्ने विषयमा पनि सरकारको ध्यानाकर्षण गराइएको उहाले जानकारी दिनुभयो । छलफलका क्रममा वन्यजन्तुबाट हुने जोखिम न्यूनीकरण, सञ्चार, विद्युत्, खानेपानी, सिँचाइ तथा कृषि क्षेत्रको समग्र विकासका लागि आवश्यक नीतिगत तथा बजेटीय व्यवस्था गर्नुपर्नेमा समेत जोड दिइएको थियो। प्रधानमन्त्री शाहले कर्णालीका मुद्दाप्रति सरकार संवेदनशील रहेको बताउँदै आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विकास आयोजनाको कार्यान्वयनलाई तीव्र बनाउन सम्बन्धित निकायबीच समन्वयलाई प्रभावकारी बनाइने र शासकीय सुधारमा विशेष ध्यान दिइने वताउनुभएको भेटमा सहभागि रुकुम पश्चिमका सासद गोपाल शर्माको भनाई छ ।
