
एक कार्यक्रमका सहभागी सरोकारवालाहरूले सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवद्र्धनका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताएका छन् । उनीहरूले नागरिकलाई समयमै, सही र सहज रूपमा सूचना उपलब्ध गराउनु राज्यका निकायहरूको मुख्य दायित्व भएको उल्लेख गर्दै सूचना पहुँचको सुनिश्चितताले मात्र लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गरेका हुन । जिल्ला हुलाक कार्यालय सल्यानको आयोजना तथा जिल्ला प्रशासन कार्यालय सल्यानको समन्वयमा आयोजित “सूचनाको हक कार्यान्वयन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम” मा सहभागीहरूले सूचनाको हकको प्रभावकारी कार्यान्वयन बिना पारदर्शिता र जवाफदेहिता सम्भव नहुने बताए । उनीहरूका अनुसार सार्वजनिक निकायहरूले सूचना प्रवाहमा ढिलासुस्ती वा बेवास्ता गर्दा नागरिकको विश्वास कमजोर हुने भएकाले यसतर्फ विशेष ध्यान दिन आवश्यक छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले सूचनाको हक प्रत्येक नागरिकको नैसर्गिक तथा संवैधानिक अधिकार भएको उल्लेख गर्दै यो अधिकार सानो देखिए पनि अत्यन्त शक्तिशाली रहेको बताउनु भयो । उहाँले नागरिकले सहज रूपमा सूचना प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु सबै सरकारी तथा सार्वजनिक निकायहरूको दायित्व भएकोमा जोड दिँदै पारदर्शी शासन प्रणाली निर्माणमा सूचनाको हकको भूमिका महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो ।
त्यसैगरी, जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत चिन्तामणी रेग्मीले सूचनाको हकसम्बन्धी संवैधानिक तथा कानुनी प्रावधान, सूचना प्रयोग गर्ने विधि, सूचना प्राप्त गर्ने प्रक्रिया तथा सार्वजनिक निकायहरूको जिम्मेवारीबारे विस्तृत जानकारी गराउनु भयो । उहाँले सही, विश्वसनीय र समयमै सूचना प्रदान गरिएमा नागरिकका गुनासा कम हुने र सरकारी निकायप्रति विश्वास बढ्ने बताउँदै यसले समग्र शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन मद्दत गर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ अकोर्याप कर्णाली प्रदेशका अध्यक्ष प्रतिक इच्छुक शर्माले सूचना दिने निकाय र सूचना माग्ने नागरिकबीच समन्वयको अभाव देखिएको उल्लेख गर्नुभयो । उहाँले मौखिक रूपमा दिन सकिने सूचनामा समेत अनावश्यक आलटाल गर्ने प्रवृत्ति देखिएको भन्दै यस्तो व्यवहारलाई अन्त्य गरी सूचना प्रवाहलाई सहज र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी, नेपाल पत्रकार महासंघ सल्यानका कोषाध्यक्ष खकेन्द्र केसीले विगतको तुलनामा अहिले सूचना प्रवाहमा केही सुधार आएको उल्लेख गर्दै अझै पनि पूर्ण पारदर्शिता कायम गर्न थप प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले सञ्चारमाध्यम र पत्रकारहरूको सक्रियताले सूचना सार्वजनिक गर्ने संस्कृतिमा सकारात्मक परिवर्तन आएको भए पनि यसलाई संस्थागत गर्न आवश्यक रहेको धारणा राख्नुभयो । कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका सूचना अधिकारी, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

उहाँ सरिता मेरो जिल्ला डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |
