भ्रष्टाचार र बेथितिका विरुद्ध डटेर काम गर्नेछौ : रास्वपा कर्णाली प्रदेश महामन्त्री चन्द

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ चैत्र २४, मंगलबार (५ दिन अघि)
  • ४६ पटक पढिएको

भ्रष्टाचार र बेथितिका विरुद्ध डटेर काम गर्नेछौ : रास्वपा कर्णाली प्रदेश महामन्त्री चन्द

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कर्णाली प्रदेश महामन्त्री ललित कुमार चन्दले भ्रष्टाचार र विभिन्न बेथितिका विरुद्ध सशक्त रूपमा आवाज उठाउँदै जनताको पक्षमा निरन्तर काम गर्ने बताउनु भएको छ । मगंलबार सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पछिल्लो निर्वाचनमा पराजय व्यहोरे पनि जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर पार्टी अघि बढ्ने स्पष्ट पार्नुभयो ।
“हामी हारबाट निराश हुने होइनौं, बरु यसलाई पाठको रूपमा लिएर अझ सशक्त रूपमा अघि बढ्नेछौं,” उहाँले भन्नुभयो । साथै, राम्रो कामका लागि अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्न पार्टी सधैं तयार रहने उहाँको भनाइ थियो । महामन्त्री चन्दले पार्टीले स्थापनाकालदेखि नै सुशासन, पारदर्शिता, न्याय र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको स्मरण गराउँदै जिल्लामा हुने हरेक गतिविधिको निगरानी गरिने बताउनुभयो । उहाँका अनुसार स्थानीय तहदेखि प्रदेशसम्म हुने विकास निर्माणका कार्यहरूमा देखिएका अनियमितता, ढिलासुस्ती र गुणस्तरहीन कामप्रति पार्टीले कडा रूपमा खबरदारी गर्नेछौ । उहाँले जिल्लामा अझै पनि आधारभूत पूर्वाधारका कामहरू जस्तै सडक, विद्युत् र खानेपानीका आयोजना अलपत्र अवस्थामा रहँदा जनताले ठूलो सास्ती भोग्नुपरेको उल्लेख गर्नुभयो ।


त्यस्तै, हाल केन्द्रमा रास्वपाको सहभागिता रहेको सरकार भएकाले आगामी बजेट कर्णाली प्रदेशलाई न्याय हुने गरी ल्याउन पहल गरिने उहाँले बताउनुभयो । कर्णालीको भौगोलिक विकटता र विकासको आवश्यकता अनुसार विशेष प्राथमिकता दिनुपर्ने उहाँको जोड थियो ।
पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष प्रकाश नेपालीले पनि पार्टी संगठनलाई अझ सुदृढ बनाउने र जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले हरेक सरकारी तथा गैरसरकारी कार्यालयमा हुने कामकारबाही, सेवा प्रवाह र सम्भावित अनियमितताको निगरानी गर्ने योजना रहेको जानकारी दिनुभयो ।

अध्यक्ष नेपालीले विगतको निर्वाचनमा भोगेको पराजयलाई गम्भीर रूपमा आत्मसात गर्दै त्यसबाट सिकेर पार्टीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने बताउनुभयो । हाल जिल्लाका सबै पालिकामा पार्टी संगठन गठन भइसकेको उल्लेख गर्दै उहाँले अब संगठनलाई अझ सक्रिय, जनमुखी र प्रभावकारी बनाउँदै लैजाने योजना रहेको जानकारी दिनुभयो । साथै, स्थानीय स्तरमै जनताको समस्या बुझ्ने, समाधान खोज्ने र उनीहरूको आवाज सशक्त रूपमा उठाउनेतर्फ पार्टी केन्द्रित हुने उहाँको भनाइ थियो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली