
सल्यानमा भिरबाट खसेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दार्मा गाउँपालिका–६ मलिक्चामा ५९ बर्षिय प्रेम बहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मंगलबार दिउँसो करिब २ बजे स्थानीयले चिसापानी भिरबाट करिब १०० मिटर तल एक व्यक्ति मृत अवस्थामा रहेको देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।
प्रहरीका अनुसार कामी गत चैत २५ गते जाजरकोटबाट घर फर्कने क्रममा भिर बाट खसेका हुन। उनको शव घटनास्थलमै रहेको छ भने परिवारलाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ।
सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दार्माबाट प्रहरी सहायक हवलदार पुष्कर बिकको कमाण्डमा तीन जनाको टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी निरीक्षक यामबहादुर मल्लको नेतृत्वमा पाँच जनाको टोली खटिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
