
सल्यानका न्यायिक समितीका संयोजकहरुलाई दुई दिने अभिमुखीकरण तालिम प्रदान गरिएको छ । स्थानीय तहमा न्यायिक कार्यलाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउने उद्देश्यले स्थानीय न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीहरूका लागि दुई दिने अभिमुखीकरण तालिम दिइएको हो । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान, सुर्खेतको आयोजनामा सदरमुकाम खलङ्गामा हिजो र आज सञ्चालन गरिएको उक्त तालिममा न्यायिक कार्यसम्पादन, विवाद समाधान तथा मध्यस्थता प्रक्रियासम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा कपुरकोट गाउँपालिका बाहेक ९ स्थानिय तहका २१ जना न्यायिक समितीका पदाधिकारी सहित कर्मचारीको उपस्थिती रहेको थियो ।
कर्णाली प्रदेश मन्त्री परिषद कार्यालयका कानुन उपसचिव उत्तम गौतमका अनुसार तालिममा कानुनी शब्दावलीको प्रयोग, न्यायिक समितिको अधिकार क्षेत्र, उजुरी दर्ता तथा अनुसन्धान प्रक्रिया, निर्णय लेखन र आदेश कार्यान्वयनका विधि लगायत विषयमा सहजीकरण गरिएको थियो । साथै, वैकल्पिक विवाद समाधान मेलमिलापको अवधारणा, तथा व्यावहारिक केस स्टडीमार्फत सहभागीहरूलाई अभ्यास गराइएको थियो ।
त्यसैगरी, न्याय सम्पादनका क्रममा अपनाउनुपर्ने प्रक्रियागत पक्ष, अन्तरिम आदेश जारी गर्ने विधि, र विवाद समाधानमा भूमिका निर्वाह सम्बन्धी अभ्यास तथा भूमिकाअभिनय समेत गराइएको उहाँले जानकारी दिनुभयो ।
यस्तै स्थानिय तहमा आएका मुद्धामा कस्ता विवाद मेलमिलाप बाट मिलाउने जस्ता कुरा सिकाइएको कानुन उपसचिव गौतमले जानकारी दिनुभयो । तालिममा सहभागीहरूले यसले आफ्नो कार्यसम्पादनमा स्पष्टता ल्याउनुका साथै व्यवहारिक सीप विकासमा सहयोग पुगेको प्रतिक्रिया दिएका छन्। स्थानीय तहमा बढ्दो विवादलाई छिटो, सरल र प्रभावकारी रूपमा समाधान गर्न यस्तो तालिम महत्वपूर्ण हुने विश्वास गरिएको छ । तालिमको प्रशिक्षण कानुन उपसचिव गौतम जिल्ला न्याधिवक्ता पूर्णबहादुर थापा, स्रेस्तेदार कमल कुमार आचार्य लगायतले दिनुभएको थियो ।
