सरकारले लोकतन्त्र र लोकतान्त्रिक संस्थामाथि अंकुश लगाउन खोजेको छ : सांसद मल्ल


सरकारले लोकतन्त्र र लोकतान्त्रिक संस्थामाथि अंकुश लगाउन खोजेको छ : सांसद मल्ल

प्रतिनिधिसभाका सांसद रमेश कुमार मल्लले वर्तमान सरकारले लोकतन्त्र तथा लोकतान्त्रिक संस्थामाथि अंकुश लगाउने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । उहाँले नागरिक स्वतन्त्रता र लोकतन्त्र माथि कुनै पनि प्रकारको अंकुश स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई नेपाल पत्रकार महासंघ सल्यानले आयोजना गरेको बधाई तथा शुभकामना आदान कार्यक्रममा बोल्दै सांसद मल्लले लामो जनआन्दोलनको संघर्षपछि प्राप्त लोकतन्त्रलाई कमजोर बनाउने तथा विश्वविद्यालयजस्ता शैक्षिक संस्थामा हस्तक्षेप गर्ने प्रयास भइरहेको उहाँले बताउनु भयो । राजनीतिक विचारबाट टाढा राख्ने नाममा संस्थाहरूलाई नियन्त्रणमा राख्ने काम स्वीकार्य नहुने बताउनु भयो ।


उहाँले सञ्चार माध्यममाथि अंकुश लगाउने प्रयासलाई पनि गलत ठहर गर्दै कुनै पनि छलफल र समन्वयबिना एकल निर्णय गर्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको बताउनुभयो । साथै, संघीयताको मर्मविपरीत कार्य भइरहेको र लोकतन्त्र तथा गणतन्त्रको आत्मामाथि प्रहार भइरहेको उहाँको आरोप छ । त सरकारले गरेका केही सकारात्मक कार्यलाई समर्थन गर्ने उहाँले बताउनुभयो । सरकारले सबै राजनीतिक दलका प्रतिबद्धतालाई राष्ट्रिय प्रतिबद्धताका रूपमा अघि बढाउने प्रयास सकारात्मक सुरुवात भएको उल्लेख गर्दै उहाँले लोकतन्त्रविरुद्धका कुनै पनि गतिविधि भने स्वीकार्य नहुने दोहो¥याउनुभयो । सांसद मल्लले जनताका अपेक्षा अनुसार काम गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै जनताका आवाज संसदसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हामीले प्रि–बजेट छलफलका लागि समय मागेका छौँ, त्यसमा सहभागी हुन पाउनुपर्छ,” उहाँले भन्नुभयो । उहाँले बजेट निर्माणमा महिला, दलित तथा भौगोलिक सन्तुलनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । कर्णाली प्रदेशका लागि पर्याप्त बजेट व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै सधैं कर्णालीलाई पछाडि पार्ने प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।


कार्यक्रममा कर्णाली प्रदेशका पूर्व कृषिमन्त्री तथा प्रदेश सांसद भिम प्रकाश शर्माले सुशासन र पारदर्शिता कायम गर्न पत्रकारहरूले जिम्मेवार ढंगले कलम चलाउनुपर्ने बताउनुभयो । उहाँले सरकारका गलत काममा खबरदारी गर्दै, भएका राम्रा कामलाई सत्य–तथ्यमा आधारित रहेर प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावलले पत्रकार र मिडियाले गरेका काम प्रशंसनीय रहेको बताउनुभयो । उहाँले सरकारी निकायहरूले आफ्ना गतिविधि सार्वजनिक गर्न मिडिया र पत्रकारको सहारा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । त्यसैगरी, उपप्रमुख असबिर बुढाथोकीले पत्रकार र मिडियाको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । विकास निर्माणका कामको प्रचारप्रसारसँगै कमजोरी भएका ठाउँमा खबरदारी आवश्यक रहेको उहाँको भनाइ थियो । बागचौर नगरपालिकाका उपप्रमुख सुम्निमा वली डिसीले पत्रकार र स्थानीय तहबीच समन्वयको महत्व अझै राम्रोसँग बुझ्न नसकिएको महसुस भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले मिडियालाई राज्यको चौथो अंगको रूपमा व्याख्या गर्दै, यसलाई राज्यसँग सहकार्यमा अघि बढाउँदा मात्र देश समृद्ध हुने धारणा राख्नुभयो ।

उहाँले पत्रकारहरूले जिल्लाको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्दै, सत्य–तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । साथै, पछिल्लो समय केही गैर–जिम्मेवार समाचारले भ्रम सिर्जना गरेको भन्दै जिम्मेवारीपूर्वक सूचना संकलन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका पूर्व अध्यक्ष तथा सामुदायिक प्रसारक संघ (अकोर्याप) कर्णाली प्रदेश अध्यक्ष प्रतीक इच्छुक शर्मा, पूर्व कार्यवाहक अध्यक्ष सनत कुमार शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शिव डाँगीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव बुद्धि पुनले गर्नुभएको थियो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली