
कर्मचारी मिलन केन्द्र सल्यानले सल्यान दर्पण स्मारिका-२०८३ प्रकाशन गरेको छ । सोमबार खलंगामा आयोजित एक कार्यक्रमकाबीच जिल्ला न्यायाधीश प्रल्हाद कुमार योगी र प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले संयुक्तरुपमा उक्त स्मारिकाको विमोचन गर्नु भएको थियो । सल्यान जिल्ला भित्र रहेका सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत सबै कर्मचारीहरुको साझा संस्थाको रुपमा रहेको कर्मचारी मिलन केन्द्र, सल्यानले जिल्लाको विशिष्ट पहिचान, सार्वजनिक निकायहरुको चिनारी, सेवा प्रवाहको प्रक्रिया र कर्मचारीहरुको सिर्जनालाई चिरस्थायीरुपमा दस्तावेजीकरण गर्ने उद्देश्यले आफ्नो मुखपत्र- सल्यान दर्पण स्मारिका-२०८३ प्रकाशन गरेको स्मारिका प्रकाशन समितिका सयोजक चन्द्र कमल खडकाले जानकारी दिनु भयो । उक्त स्मारिकामा सल्यानको आर्थिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, आध्यात्मिक विषयमा विवरणात्मक तथा अनुसन्धानमूलक जानकारी, सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित लेख, सार्वजनिक जीवनसँग सम्बन्धित कविता, गीत,स्मरण, गजल, कथा गरि ३० वटा लेख रचना समाविष्ट छन् । स्मारिकामा प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटा, नेपाल सरकारका सहसचिव एवम् सल्यान जिल्लाका निवर्तमान प्रजिअ नेत्र सुवेदी, जिल्ला अदालतका श्रेस्तेदार कमल कुमार आचार्य, बागचौर नपाका प्रमुख प्रशासकिय अधिकृत टंक भट्टराई लगायत विभिन्न कार्यालयका प्रमुख एवम् कर्मचारीहरुका अलावा पूर्ण भण्डारी पंकज, भद्रसिंह बुढा भद्र भास्वर, नेपाल पत्रकार महासंघ सल्यान शाखाका पूर्वअध्यक्ष प्रतिक ईच्छुक शर्मा, वर्तमान कोषाध्यक्ष खकेन्द्र केसीलगायत जिल्लाका दिग्गज व्यक्तित्वहरुका लेख रचना समावेश गरिएको छ ।
उक्त कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश प्रल्हाद कुमार योगीले स्मारिका प्रकाशनमा योगदान गर्ने सबैलाई धन्यवाद दिनु भयो भने प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले सल्यान दर्पण स्मारिका सबै पाठकहरुका लागि जिल्लाको समग्र पक्षबारे जानकारी दिने दर्पण पुस्तिका बन्ने विश्वास व्यक्त गर्नु भयो । सोहि कार्यक्रममा जिल्लामा भर्खरै जिम्मेवारी सम्हाल्न आउनु भएका सशस्त्र प्रहरी बल नेपाल गुल्म हेड क्वार्टर सल्यानका गुल्मपति स.प्र.ना.उ. दिपकराज गुरुङ र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख अनुप श्रेष्ठलाई स्वागत तथा सरुवा भई जान लाग्नु भएका अदुवाबाली अनुसन्धान कार्यक्रम, कपुरकोटका प्रमुख डा. घनश्याम भण्डारीलाई फेरी भेटौला विदाई गरिएको थियो ।
