
रुकुम पश्चिमको सानीभेरी नदीमा दुई दिदि बहिनीको शव फेला परेको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–३ का दुई दिदि बहिनीको शव सानीभेरी नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरीका अनुसार अर्का एक जना किशोरी बेपत्ता भएकी छन । सूचना अधिकारी हरिप्रसाद पुनले मंगलबार बिहान सानीभेरी नदीमा दुई किशोरी मृत अवस्थामा फेला परेको र अर्का एक जना बेपत्ता भएको जानकारी दिनुभयो । उहाँका अनुसार मृतकहरू बाँफिकोट गाउँपालिका–३ की १४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मिला ओली रहेका छन्। उनीहरू सोमबार बेलुका मुसिकोट नगरपालिकाको छिङ क्षेत्रमा भएको बिहेमा सहभागी भएर घर फर्किने क्रममा बेपत्ता भएका थिए। उनीहरूसँगै रहेकी १२ वर्षीया सपना ओली भने अझै बेपत्ता रहेको उहाँले जानकारी दिनुभयो । किशोरीहरू सानीभेरी नदी तर्ने क्रममा बगेको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
