
जिल्ला प्रहरी कार्यालय सल्यानले फागुन महिनामा सम्पादन गरेका कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। सोमबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सूचना अधिकारी तथा प्रहरी निरीक्षक पूर्णबहादुर केसीले फागुन महिनाको कार्यसम्पादन प्रतिवेदन सार्वजनिक गर्नुभएको हो।
प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थामा रहेका १६ नाल भरुवा बन्दुक बरामद गरिएको छ। अपराध अनुसन्धानतर्फ फागुन महिनामा १५ वटा नयाँ मुद्दा दर्ता भएका छन् भने पुराना र नयाँ गरी २२ वटा मुद्दा फर्छ्यौट गरिएको छ। फैसला कार्यान्वयनका क्रममा विभिन्न मुद्दाका १६ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो। यसैगरी, सवारी दुर्घटना न्यूनीकरणका लागि गरिएको सक्रियताका क्रममा फागुन महिनामा २४१ वटा सवारी साधनलाई कारबाही गरिएको छ। उक्त कारबाहीबाट २ लाख १२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ। प्राकृतिक स्रोतको अवैध दोहन रोक्ने क्रममा बालुवा लोड गरिएको एक थान ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सामुदायिक सचेतनालाई पनि उत्तिकै प्राथमिकता दिइएको छ। जिल्लाभर आत्महत्या न्यूनीकरण, बालविवाह, लागूऔषध तथा साइबर अपराध विरुद्ध ४८ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र ती कार्यक्रममा झन्डै २ हजार १ सय ४१ नागरिकको सहभागिता रहेको तथ्याङ्क छ।
नागरिक सुनुवाइका क्रममा स्थानीयले पछिल्लो समय बढ्दै गएको आत्महत्या र साइबर अपराधका चुनौतीलाई सम्बोधन गर्न माग गरेका छन्। शान्ति सुरक्षालाई थप मजबुत बनाउन नियमित गस्ती तथा सूचना संकलनलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।
