
सल्यानको शारदा नगरपालिका–५ तलो मार्केमा रहेको श्री जनकल्याण प्राथमिक विद्यालयले छात्रावासमा बस्दै अध्ययन गरिरहेका असहाय तथा विपन्न बालबालिकाको शिक्षामा उल्लेखनीय सहयोग पु¥याएको भन्दै तीन जना पत्रकारलाई सम्मान गरेको छ। विद्यालयले प्रवेशद्वार (गेट) तथा सरस्वती मन्दिर उद्घाटन तथा सम्मान कार्यक्रमको अवसरमा पत्रकारिता क्षेत्रको माध्यामबाट सहयोगी दाताहरूमार्फत खाद्यान्न तथा नगद सहायता जुटाउन समाचार र सुचना मार्फत महत्वपूर्ण भूमिका खेलेका रेडियो शारदामा कार्यरत पत्रकार प्रदीप मगर, रेडियो राप्तीमा कार्यरत बुद्धि पुन र अमृत बुढाथोकीलाई कदरपत्रसहित सम्मान गरिएको हो। श्री जनकल्याण प्राथमिक विद्यालयद्धारा आज आयोजित एक कार्यक्रमबिच शारदा नगरपालिकाका नगर प्रमुख प्रकास भण्डारीले उहाँहरुलाई सम्मान प्रदान गर्नुभएको हो । उनीहरूले विभिन्न दातालाई जोड्दै छात्रावासमा बस्ने बालबालिकाको दैनिक आवश्यकता पूरा गर्न निरन्तर पहल गर्दै आएका थिए।
विद्यालयका अनुसार सोही सहयोगबाट विद्यालयको मुख्य प्रवेशद्वार तथा सरस्वती मन्दिर निर्माणमा समेत उल्लेखनीय टेवा पुगेको छ। जिल्लामै पहिलोपटक विद्यालयमै छात्रावाससहित शिक्षा सेवा सञ्चालन भइरहेको यस विद्यालयमा हाल ३१ जना असहाय बालबालिका बसोबास गर्दै अध्ययन गरिरहेका छन्। यसले टाढाका तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाइ समेत शिक्षाको पहुँच दिलाएको विद्यालयले जनाएको छ।
एक समय बन्द हुने अवस्थामा पुगेको विद्यालय अहिले भने विस्तारै पुनर्जीवित हुँदै गएको छ। हाल नियमित रूपमा अध्ययन गर्ने विद्यार्थी संख्या बढेर ९३ पुगेको छ, जुन विद्यालयका लागि सकारात्मक संकेत मानिएको छ। कार्यक्रममा बोल्दै सहायक प्रधानाध्यापक कृष्ण ओलीले सहयोग गर्ने सम्पूर्ण दाता, पत्रकार, सामाजिक व्यक्तित्व तथा सहयोगी हातहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ सहयोगको अपेक्षा राख्नुभयो। विद्यालयले प्राप्त गरेको सहयोगले विद्यार्थीहरूको मनोबल उच्च बनाउनुका साथै शिक्षाप्रति आशा, आत्मविश्वास र उज्ज्वल भविष्यप्रतिको विश्वास बढाएको जनाएको छ।
