
सल्यानमा धान जोन व्यवस्थापन समिति पुनर्गठन गरिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइको आयोजनामा तथा समयावधि समाप्त भएसँगै नयाँ नेतृत्व चयन गर्न आयोजित भेलाले नयाँ समिति गठन गरेको हो।
भेलाले हिमाल योगीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ। नवगठित समितिले कुमाख गाउँपालिका, शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका र त्रिवेणी गाउँपालिकालाई कार्यक्षेत्र बनाएर किसान र परियोजनाबीच समन्वय गर्ने जिम्मेवारी पाएको छ।

भेलामा चारवटै पालिकाका कृषि समूह, सहकारी तथा व्यक्तिगत फार्मका किसानहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागी किसानहरूले आफ्ना समस्या, आवश्यकता र हक–हित संरक्षणका विषयमा धारणा राखेका थिए।
कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका प्रमुख अनिल वानियाले नवगठित समितिलाई सक्रिय र जिम्मेवार भएर किसानको हक–हितमा काम गर्न आग्रह गर्नुभयो। उहाँले धान खेतीको विस्तार र आधुनिकीकरणका लागि समितिको भूमिका महत्त्वपूर्ण रहने बताउँदै परियोजनाले आवश्यक सहयोग निरन्तर गर्ने जानकारी दिनुभयो।
नवगठित समितिले आगामी दिनमा धान उत्पादन वृद्धि, बजार व्यवस्थापन तथा नयाँ प्रविधिको विस्तारमा सहजीकरण गर्ने अपेक्षा गरिएको छ।
