
सल्यानको कपुरकाेट गाउँपालिका–३ का वडा अध्यक्ष प्रदीप खड्काले मिटर बक्सको आपूर्ति तथा वितरणमा ढिलाइ भएको भन्दै नेपाल विद्युत प्राधिकरण, विद्युत वितरण केन्द्र सल्यानमा धर्ना दिनुभएको छ।
ग्राहकले मिटर बक्सका लागि दिएको आवेदन सोही दिन कार्यालय समयभित्रै उपलब्ध गरिनुपर्ने माग राख्दै उहाँले केन्द्रको कार्यालय परिसरमै एक्लै धर्ना सुरु गर्नुभएको हो।
वडा अध्यक्ष खड्काका अनुसार पूर्ण विद्युतीकरणको अभियानमै ढिलाइ भइरहेको छ, जसले स्थानीयलाई अनावश्यक सास्ती भोग्न बाध्य बनाएको छ। “सरकारी निकायबाटै सेवाग्राहीलाई दुःख दिने काम हुनु हुँदैन,” उहाँले भन्नुभयो।

उहाँले आजै तीनवटा मिटर बक्सका फाइल पेश गरिएको जानकारी दिँदै सोही दिन मिटर उपलब्ध गराइए धर्ना अन्त्य गर्ने स्पष्ट पार्नुभएको छ।
यता, विद्युत वितरण केन्द्र सल्यानका प्रमुख नरेशदत्त रावतले भने प्रक्रियाअनुसार निवेदन दिएको २४ घण्टाभित्र कोर्डसहित सामग्री उपलब्ध गराइने व्यवस्था रहेको बताउनुभयो। “कोर्ड बिना मिटर बक्स मात्र उपलब्ध गराउन मिल्दैन,” उहाँको भनाइ छ।
हाल वडा अध्यक्ष खड्का र केन्द्र प्रमुख रावतबीच समस्या समाधानका लागि छलफल जारी रहेको छ। वडा अध्यक्ष खड्काले मिटर बक्स वितरण प्रणाली सहज नभएसम्म तथा पूर्ण विद्युतीकरणको काम तीव्र नबढाइएसम्म धर्ना जारी राख्ने चेतावनी दिनुभएको छ ।
