
जिल्ला प्रहरी कार्यालय सल्यानको कम्पाउण्डभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम फेला परेको छ। गएको बुधबार दिउँसो करिब १२:३५ बजे शारदा नगरपालिका ३ स्थित प्रहरी कार्यालय परिसरमा सकेट बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता बढाइएको थियो।

उक्त स्थानमा निरन्तर उत्खनन गर्दा शनिबार बिहान ११:२० बजेसम्म जम्मा ८६ वटा बम फेला परेको प्रहरीले जनाएको छ। तीमध्ये ८२ वटा सकेट बम, ३ वटा सुतली बम र १ वटा बोतल बम रहेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेम बहादुर केसीका अनुसार उत्खननका क्रममा ७ थान रेडियो वेभ उपकरण, करिब ५०० ग्राम विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने करिब २ केजी सामग्री तथा १० मिटर फायरिङ केबल समेत फेला परेको छ।

बम फेला परेसँगै नेपाली सेनाको सिद्धीबक्स गणसँग समन्वय गरी डा. केसीकै कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको थियो। त्यसपछि दिउँसो १ बजे उपसेनानी कृष्ण क्षेत्रीको नेतृत्वमा ६ जनाको नेपाली सेना टोली घटनास्थल पुगेको थियो।
साँझ ४:२० बजेसम्म थप उत्खनन गर्दा १० वटा सकेट बम फेला परेपछि बम निष्क्रिय पार्न मध्यपश्चिम पृतना अन्तर्गत दाङको नं. १९ बाहिनीबाट बम डिस्पोजल टोली बोलाइएको थियो।
शनिबार बिहान ८:२० बजे कालीभक्ती गण भैरहवाबाट सेनानी श्रीप्रसाद रामजालीको कमाण्डमा ६ जना इन्जिनियर टोली तथा सिद्धीबक्स गण सल्यानबाट सेनानी महेश अधिकारीको नेतृत्वमा १० जनाको टोली घटनास्थलमा खटिएको छ।
हाल फेला परेका सबै विस्फोटक सामग्रीलाई सुरक्षित रूपमा डिस्पोज गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
