
आइतबार साँझ चलेको हावाहुरीका कारण सल्यानका विभिन्न स्थानमा घर, स्वास्थ्य चौकी, विद्यालय र अस्पतालका संरचनामा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार साँझ करिब ५ बजेतिर आएको हावाहुरीले छत्रेश्वरी गाउँपालिका–४ जयचौरस्थित कोर्बाङ झिम्पे स्वास्थ्य चौकीको एक कोठे प्रशासनिक भवनको टिनको छाना उडाएको छ। त्यसैगरी कालिमाटी गाउँपालिका–५ गणेश डाँगीको कच्ची घरको छाना उड्नुका साथै भित्तामा समेत सामान्य क्षति पुगेको छ। यस्तै शारदा नगरपालिका–१३ साझखर्कमा तारी रोकाको घर नजिकै रहेको रुख ढल्दा दुईतले कच्ची घर र टहरामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरीका अनुसार शारदा नगरपालिका–१ सुकेखोलाकी गीता केसीको एकतले तीन कोठे घरको छाना उडेको छ भने वडा नं १४ की विष्णु कुमारी बुढाथोकीको घरको जस्तापाता पनि उडाएको छ। यस्तै, जिल्ला अस्पताल सल्यानको इमर्जेन्सी वार्ड नजिकै रहेको डाक्टर बस्ने क्वाटरको एक कोठामा समेत क्षति पुगेको छ। बागचौर नगरपालिका–२ का नन्दलाल वली र निमराज डाँगीका घरका जस्तापाता उडाउँदा संरचनामा क्षति पुगेको छ भने शारदा नगरपालिका–१३ सल्लेरीका छबिलाल रावतको घरमा पनि हावाहुरीले असर गरेको छ।

त्यस्तै, बनगाड कुपिण्डे नगरपालिका–५ चिउरास्थित श्री त्रिभुवन जनता माध्यमिक विद्यालयको भवनका जस्तापाता, बाली विज्ञान प्रयोगशालाको टनेल र त्रिपाल उडाएको छ। सोही वडाका राजकुमार पुन र नन्दलाल रानाका घरमा समेत क्षति पुगेको छ।प्रहरीका अनुसार घटनामा कुनै मानविय क्षति भएको छैन। क्षतिको थप विवरण संकलन तथा मूल्यांकन भइरहेको जनाइएको छ।
