
सल्यानमा नागरिकको घरमै पुगेर राहदानी उपलब्ध गराउने कार्यको शुभारम्भ भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटा र जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत चिन्तामणि रेग्मीबीच सम्झौतापत्रमा हस्ताक्षर भई यो कार्यको शुभारम्भ गरिएको हो । सल्यानमा अब राहदानी (पासपोर्ट) लिने सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच भएको समझदारीअनुसार अब राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पु¥याइने भएको हो । प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत सरकारी सेवा सुधारसम्बन्धी कार्यक्रमअन्तर्गत ‘जनताको घरदैलो सेवा’ अवधारणा लागू गर्दै अब हुलाक कार्यालयमार्फत जनताको घरदैलोमै राहदानी पु¥याउने व्यवस्था गरिएको बताउनुभयो । उहाँले राहदानी वितरणलाई सहज, छिटो र प्रविधिमैत्री बनाउन तथा सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयमै आउनुपर्ने बाध्यता अन्त्य गर्दै घरदैलो सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो ।

जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत चिन्तामणि रेग्मीले सम्झौता कार्यान्वयनमा आइसकेको बताउँदै बुधबारदेखि हुलाकका एक कर्मचारी जिल्ला प्रशासन कार्यालयमै बसेर फाराम भराउने जानकारी दिनुभयो । उहाँका अनुसार “जनताको घरदैलो सेवा स्वेच्छिक भएकाले हुलाकमार्फत लिन चाहनेले थप एउटा फाराम भर्नुपर्नेछ । घरघरमा पु¥याउनका लागि भने हुलाक ऐनअनुसार ५५ रुपैयाँ दस्तुर तिर्नुपर्नेछ ।” राहदानी विभागबाट प्राप्त राहदानी जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीको नाम, ठेगाना र सम्पर्क विवरणसहित जिल्ला हुलाक कार्यालयमा पठाइने र त्यसको एक साताभित्र हुलाक कार्यालयले सेवाग्राहीको घरमै राहदानी पु¥याउने उहाँले जानकारी दिनुभयो ।
सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो । मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नं. २७ मा सरकारी सेवा घरमै उपलब्ध गराउने उल्लेख गरिएको छ ।

उहाँ सरिता मेरो जिल्ला डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |
