
सल्यानमा धार्मिक आस्थाको केन्द्र मानिने बुद्धको मूर्ति तोडफोडसँगै हावाहुरीले उडाएको छ । शारदा नगरपालिका–२, मखन टाकुरी स्थानमा राखिएको बुद्धको मूर्ति तोडफोडसँगै हावाहुरीले उडाएको हो । शारदा नगरपालिकाले एक वर्षअघि करिब ३५ लाखभन्दा बढी लगानीमा बुद्ध पार्क निर्माणसँगै बुद्धको मूर्ति राखेको थियो । जसलाई नगरपालिकाले “बुद्ध पार्क” नामकरण गरेको छ । बुद्ध पार्क निर्माण गरेको केही महिनामै पार्कमा राखिएका संरचनामा क्षति पु¥याउनुका साथै संरचना हराएका थिए । नगरपालिकाले त्यसलाई पुनः मर्मत गरेको थियो । त्यसको केही महिनापछि बुद्धमा राखिएको कटौरा नै हराएको थियो । गएको सोमबार र मंगलबारको हावाहुरीले बुद्धको मूर्ति नै उडाएको छ । सो मूर्ति अहिले नगरपालिकाको स्टोर शाखामा राखिएको उपप्रमुख सुस्मिता सापकोटाले जानकारी दिनुभयो ।

यो मात्र होइन, शारदा नगरपालिका–२ को सितपाइला पार्कमा राखिएका संरचना पनि तोडफोड हुनुका साथै हराएका छन् । २०७५÷७६ सालतिर ९ लाखभन्दा बढी लागतमा निर्माण भएका संरचना अहिले कुनै पनि भेटिँदैनन् ।
उहाँले धार्मिक आस्थाको रूपमा राखिएको बुद्धको मूर्तिमा तोडफोड हुनु र चोरी हुनु राम्रो नभएको भन्दै नगरपालिकाको गम्भीर आपत्ति रहेको बताउनुभयो । सार्वजनिक सम्पत्ति संरक्षण गर्नु सबै नागरिकको दायित्व भएकोले त्यसो नभएको बताउनुभयो ।
“स्थानीय तहले नागरिककै लागि बनाएको हो । त्यो नगरपालिकाको मात्र दायित्व नभई नागरिकको पनि दायित्व हो,” उहाँले भन्नुभयो । “नागरिककै लापरवाही हो, कतै होर्डिङ बोर्ड च्यातिएका छन्, कतै विद्यालयको तारजाली भत्काइदिएका छन् । पार्कहरू बनायो, भत्काइदिन्छन् । मठमन्दिर बनायो, त्यहाँका संरचना हराउँछन् ।
” सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई अनुसन्धान गरिरहेको र यस्तो कार्य गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन जरुरी रहेको उहाँले बताउनुभयो ।
