
नेपाल निर्माण व्यवसायी संघ सल्यानले निर्माण सामग्री तथा इन्धनको मूल्यमा भएको अत्यधिक वृद्धिका कारण निर्माण क्षेत्र संकटमा परेको भन्दै मूल्य समायोजनको व्यवस्था नगरे निर्माण कार्य स्वतः बन्द हुने चेतावनी दिएको छ । संघले सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटा मार्फत प्रधानमन्त्री तथा नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै पछिल्लो समय डिजेल, पेट्रोल, बिटुमिन लगायत निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेकाले निर्माण व्यवसायी आर्थिक संकटमा परेको जनाएको हो । ज्ञापनपत्रमा निर्माण उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब २० लाख जनालाई रोजगारी प्रदान गर्दै आएको उल्लेख गर्दै कुल ग्राहस्थ उत्पादनमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताइएको छ । तर निर्माण सामग्रीमा भएको मूल्यवृद्धिका कारण आपूर्ति श्रृंखला प्रभावित भई निर्माण क्षेत्र धराशायी हुने अवस्थामा पुगेको संघको भनाइ छ । संघका अनुसार अघि डिजेलको मूल्य प्रतिलिटर १३२ रुपैयाँ रहेकोमा हाल २५ रुपैयाँले वृद्धि भएको छ भने बिटुमिनको मूल्य प्रतिकेजी ४५ रुपैयाँबाट ५५ रुपैयाँ पुगेको छ । यसले निर्माण व्यवसायीलाई करिब १० प्रतिशतभन्दा बढी अतिरिक्त भार परेको उल्लेख गरिएको छ । निर्माण व्यवसायीहरूले पटक–पटक मूल्य समायोजनको माग गर्दै आए पनि सरकारले हालसम्म ठोस निर्णय नगरेको गुनासो गरेका छन् ।

छिमेकी भारत मा समेत निर्माण सामग्रीको मूल्यवृद्धिअनुसार मूल्य समायोजनको व्यवस्था गरिएको अवस्थामा नेपालमा भने व्यवसायीहरूलाई बेवास्ता गरिएको संघको आरोप छ । संघले २०८३ जेठ २२ गते पत्रकार सम्मेलनमार्फत सरकारलाई अल्टिमेटम दिँदै मूल्य समायोजनको व्यवस्था गर्न आग्रह गरेको थियो । तर त्यसतर्फ कुनै सुनुवाइ नभएकाले देशभर सञ्चालित आयोजना प्रभावित हुने र निर्माण कार्य स्वतः बन्द हुने अवस्था सिर्जना भएको ज्ञापनपत्रमा उल्लेख छ । हालको परिस्थितिमा पुरानो दररेटमा निर्माण कार्य गर्न नसकिने अवस्था रहेको भन्दै व्यवसायीहरूले बैंक ग्यारेन्टी जफतजस्ता कारबाही नगर्न समेत सरकारसँग आग्रह गरेका छन् । निर्माण कार्य प्रभावित हुँदा त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी नेपाल सरकारकै हुने संघले चेतावनी दिएको छ । यसैबीच निर्माण व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना समेत दिएका थिए ।
