
सल्यानमा आधारभूत तहका ५ सय ७७ बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन्। अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनका लागि आयोजित सहजीकरण कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो। बुधबार शिक्षा विकास तथा समन्वय इकाई सल्यान को आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका शिक्षा शाखा प्रमुख, प्रतिनिधि तथा सामाजिक विकास समितिका संयोजकहरूको सहभागिता रहेको थियो। विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

इकाईका अनुसार सल्यान जिल्लाभर कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने उमेर समूहका ५ सय ७७ जना बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन्। अघिल्ला वर्षको तुलनामा विद्यालय छाड्ने ९ड्रपआउट० बालबालिकाको संख्या घट्दै गए पनि हालको तथ्यांक अझै चुनौतीपूर्ण रहेको जनाइएको छ।
कार्यक्रममा बोल्दै इकाई प्रमुख शेरबहादुर रोकाले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनलाई प्रभावकारी बनाउँदै विद्यालय बाहिर रहेका बालबालिकाको संख्या घटाउन आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकाको पहिचान गरी अभिभावकसँग समन्वय गरेर स्थानीय तहहरूले भर्ना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
“बालबालिकालाई विद्यालयभित्र कसरी ल्याउने, भर्ना अभियानलाई अझ प्रभावकारी कसरी बनाउने र आगामी दिनमा शिक्षाको पहुँच विस्तारका लागि के–कस्ता कदम चाल्न सकिन्छ भन्ने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो,” उहाँले भन्नुभयो।

उहाँका अनुसार गरिबी, अभिभावकको चेतनाको कमी, बसाइँसराइ, बालश्रम तथा दुर्गम बस्तीका कारण अझै पनि केही बालबालिका विद्यालय बाहिर रहने अवस्था रहेको छ। यस्ता बालबालिकालाई विद्यालयसम्म ल्याउन स्थानीय तह, विद्यालय र अभिभावकबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ छ।
कार्यक्रममा सहभागी स्थानीय तहका प्रतिनिधिहरूले विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरी भर्ना अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। साथै शिक्षालाई सबै बालबालिकाको पहुँचमा पुर्याउन समुदायस्तरमै सचेतना र निगरानी बढाउनुपर्नेमा जोड दिइएको थियो।
