
सल्यानमा पशुचौपायामा लाग्ने शंकास्पद अज्ञात रोगको प्रकोप देखिएको छ । जिल्लाको कुमाख गाउँपालिका र सिद्धकुमाख गाउँपालिकाका विभिन्न वडामा रोग फैलिँदा सयौँ पशुचौपाया बिरामी परेका छन् । कुमाख गाउँपालिका वडा नम्बर १, ४ र ६ का करिब ३५ घरधुरीका किसानले पालेका करिब ३ सय गाई, भैँसी तथा भेडाबाख्रामा रोग देखिएको छ । यस्तै सिद्धकुमाख गाउँपालिका वडा नम्बर ५ मा पनि २५ घरधुरीका पशुचौपाया धमाधम बिरामी पर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार गाई तथा भैँसीमा मुख, खुट्टा र गिजामा घाउखटिरा आउने, ज्वरो आउने, ¥याल काड्ने तथा घाँस नखाने समस्या देखिएको छ । कार्यालयले कुमाख क्षेत्रमा खोरेत रोगको संक्रमण भएको आशंका गरेको छ भने सिद्धकुमाखमा लम्पी स्किन रोगको शंका गरिएको जनाएको छ । रोग फैलिन थालेपछि पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको टोलीले प्रभावित क्षेत्रमा पुगेर नमुना सङ्कलन गरेको छ । सङ्कलित नमुना परीक्षणका लागि प्रयोगशाला पठाइएको कार्यालयले जनाएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका सूचना अधिकारी बिरेन्द्र केसी ले रोग अन्य क्षेत्रमा फैलिन नदिन लक्षण देखिएका पशुहरूलाई छुट्टै राखेर उपचार सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित पशुबाट रोग छिट्टै फैलिने भएकाले औषधि तथा खोपको व्यवस्थासमेत गरिएको छ । कार्यालयले जिल्लाका १० वटै स्थानीय तहमा खोरेत रोगविरुद्ध तथा भेडाबाख्रामा लाग्ने पीपीआर रोगविरुद्ध खोप अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
