
नेपाल पत्रकार महासंघ सल्यान शाखाको ७ औँ वार्षिक साधारण सल्यानको खलंगामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतको अध्यक्ष्यता तथा कर्णाली प्रदेशका उपाध्यक्ष लक्षमण केसीको प्रमुख आतिथ्यतामा र जिल्ला समन्वय समिती सल्यानका प्रमुख वेलाराम रावल, जिल्ला हुलाक अधिकृत चिन्तामनी रेग्मीको विशिष्ट आथित्यतामा सातौ साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा बोल्ने वक्ताहरूले बदलिँदो समयसँगै पत्रकारितामा चुनौती थपिँदै गएको भन्दै पत्रकारिताको विश्वसनीयता जोगाउन सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।
साधारण सभा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष लक्षण केसीले विगतको तुलनामा अहिले पत्रकारिताको क्षेत्र थप चुनौतीपूर्ण बनेको बताउनुभयो । उहाँले बदलिँदो प्रविधि, सामाजिक सञ्जालको बढ्दो प्रभाव र सूचनाको तीव्र प्रवाहका बीच पत्रकारिताको विश्वसनीयता जोगाउनु अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी भएको उल्लेख गर्नुभयो । “पत्रकारिता राज्यको ‘वाचडग’ अर्थात् खबरदारी गर्ने क्षेत्र हो । पत्रकारहरूले राज्यका गलत गतिविधिमाथि निरन्तर निगरानी र खबरदारी गरिरहेका छन्,” उहाँले भन्नुभयो, “तर राज्यले पत्रकारितालाई सहयोग र संरक्षण गर्नुको सट्टा विभिन्न किसिमका अंकुश लगाउने प्रयास गरिरहेको अवस्था पनि देखिन्छ ।”
उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेस अपरिहार्य रहेको बताउँदै पत्रकारहरू एकताबद्ध भएर सत्य र तथ्यमा आधारित पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभयो । साथै पत्रकारमाथि हुने दबाब, असुरक्षा र पेशागत चुनौतीका विषयमा राज्य गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावलले पत्रकारिता समाजको महत्वपूर्ण अंग भएको बताउनुभयो । उहाँले पत्रकारितालाई लोकतन्त्रको चौथो अंगका रूपमा व्याख्या गर्दै जनताका आवाज, समस्या र सरोकारलाई सम्बन्धित निकायसम्म पु¥याउने ठूलो दायित्व पत्रकारहरूको काँधमा रहेको उल्लेख गर्नुभयो । “पत्रकारिता केवल समाचार लेख्ने काम मात्र होइन, समाजका मुद्दालाई उठाउने, नागरिकको पक्षमा पैरवी गर्ने र जनचेतना फैलाउने माध्यम पनि हो,” उहाँले भन्नुभयो ।
त्यस्तै अर्का विशिष्ट अतिथि हुलाक कार्यालय सल्यानका प्रमुख चिन्तामनी रेग्मीले संस्था बलियो भए मात्रै पत्रकार पनि बलियो बन्न सक्ने धारणा राख्नुभयो । उहाँले पत्रकारहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताउँदै पत्रकारितालाई कमजोर पार्ने गतिविधिबाट सबै सचेत हुनुपर्ने बताउनुभयो । “जहाँ संस्था कमजोर हुन्छ, त्यहाँ पत्रकार पनि कमजोर बन्छन्,” उहाँले भन्नुभयो, “त्यसैले पत्रकारहरू एकताबद्ध भएर सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणमा लाग्नुपर्छ । कार्यक्रममा पत्रकारिताको वर्तमान अवस्था, पेशागत चुनौती, सञ्चारमाध्यमको दिगोपना, पत्रकारको सुरक्षा तथा स्थानीय पत्रकारितालाई थप सशक्त बनाउने विषयमा समेत छलफल गरिएको थियो । सभामा वार्षिक प्रगति प्रतिवेदन सचिब बुद्धि पुनले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष खकेन्द्र केसीले गर्नुभएको थियो । कार्यक्रममा बर्ष उत्कृष्ट पत्रकारीता पुरस्कार बाट क्रियासिल पत्रकार अमृत बाबु बुढाथोकीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका पुर्व अध्यक्ष रमेश कुमार गौतम, केन्द्रिय सदस्य टेकराज शाही, नेपाल पत्रकार महासंघ सल्यानका पुर्व अध्यक्ष प्रतिक इच्छुक शर्मा , पुर्व कार्यवहाक अध्यक्ष सनत कुमार शर्मा, सल्लाहकार द्धय शंकर केसी, तिलक वली, प्रेस यूनिन नेपालका प्रदेश सदस्य श्रवन देवकोटा , प्रेस चौतारी नेपालका प्रदेश सदस्य नोखिराम थापा , प्रेस सेन्टर नेपाल सल्यानका अध्यक्ष सरिता चलाउने, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य रमेश ओली लगायतले शुभकामना मन्तव्य राख्दै पत्रकारिताको पेशागत मर्यादा, सञ्चार क्षेत्रका चुनौती, पत्रकार सुरक्षा, प्रेस स्वतन्त्रता तथा डिजिटल पत्रकारिताको बढ्दो प्रभावका बारेमा मन्तब्य राखेका थिए ।

साधारण सभाले ६ बुदे घोषणपत्र जारी गरेको छ । साधारणसभामा सहभागी सदस्यहरुले पत्रकार महासंघलाई अझ सक्रिय, पारदर्शी र सदस्यमुखी बनाउन सुझाव दिएका थिए । कार्यक्रमको सञ्चालन शाखाका सचिव बुद्धि पुनले गर्नुभएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष शिव डाँगीले गर्नुभएको थियो ।
