
दार्मा गाउँपालिका–४ रातामाटास्थित श्री नव सर्वसाधारण माध्यमिक विद्यालयमा अध्ययनरत ७५ जना आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई झोला वितरण गरिएको छ। स्वर्गीय योमन चन्दको स्मृतिमा स्थापित योमन चन्द फाउन्डेसनको आयोजनामा विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्रीस्वरूप झोला वितरण गरिएको हो। फाउन्डेसनले आर्थिक अभावका कारण अध्ययनमा कठिनाइ भोगिरहेका विद्यार्थीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सामग्री वितरण गरेको जनाएको छ। कार्यक्रममा दार्मा गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रबहादुर रावत प्रमुख अतिथि तथा फाउन्डेसनका सञ्चालक सेरबहादुर चन्द विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष रावतले शिक्षा समाज परिवर्तनको प्रमुख आधार भएको उल्लेख गर्दै विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोग प्रशंसनीय रहेको बताउनुभयो। उहाँले आर्थिक अवस्था कमजोर भए पनि अध्ययनमा लगनशील विद्यार्थीलाई यस्ता सहयोगले थप उत्साह र प्रेरणा प्रदान गर्ने धारणा राख्नुभयो।
“समाजमा सकारात्मक परिवर्तन ल्याउन शिक्षाको भूमिका महत्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो, “यस्ता सामाजिक तथा शैक्षिक अभियानले विद्यार्थीलाई अध्ययनतर्फ अझ प्रेरित गर्नुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्दछ।”
वडाध्यक्ष रावतले योमन चन्द फाउन्डेसनले थालेको अभियान अनुकरणीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि शिक्षा क्षेत्रको विकास तथा विपन्न विद्यार्थीको हितका लागि वडा कार्यालयबाट आवश्यक सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। विशेष अतिथि सेरबहादुर चन्दले स्वर्गीय योमन चन्दको शिक्षा प्रतिको लगाव र समाजसेवाको भावनालाई निरन्तरता दिन फाउन्डेसन स्थापना गरिएको जानकारी दिनुभयो। उहाँले सानो सहयोगले पनि विद्यार्थीको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्दै भविष्यमा छात्रवृत्ति तथा अन्य सामाजिक कार्यक्रममार्फत समुदायको सेवा गर्ने योजना रहेको बताउनुभयो। विद्यालय परिवारले फाउन्डेसनप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीलाई थप हौसला र आत्मविश्वास मिल्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यसैबीच, इन्जिनियरिङ अध्ययन गर्ने आर्थिक रूपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यसहित ‘योमन चन्द फाउन्डेसन’ स्थापना गरिएको छ। अध्ययनका लागि बेलायत गएका दार्मा गाउँपालिका–४ निवासी २६ वर्षीय योमन चन्दको गत कार्तिक २५ गते असामयिक निधन भएको थियो। उहाँको स्मृति, मूल्य, आदर्श र शिक्षाप्रतिको समर्पणलाई जीवन्त राख्ने उद्देश्यले परिवार तथा आफन्तजनको पहलमा स्थापना गरिएको फाउन्डेसनमार्फत सिक्ने इच्छा, क्षमता र योग्यता भएका तर आर्थिक रूपमा कमजोर विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति उपलब्ध गराइने जनाइएको छ। फाउन्डेसनका अनुसार हालसम्म ४० लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरिएको छ। उक्त कोषबाट दार्मा गाउँपालिकाभित्रका होनहार तथा विपन्न विद्यार्थीलाई उच्च शिक्षाका लागि सहयोग गरिनेछ। फाउन्डेसनका तर्फबाट प्रतिक्रिया दिँदै स्वर्गीय योमन चन्दका दाजु कुशल चन्दले भाइको अधुरो सपना र शिक्षाप्रतिको समर्पणलाई समाजको हितमा रूपान्तरण गर्ने उद्देश्यले फाउन्डेसन स्थापना गरिएको बताउनुभयो। उहाँले शिक्षामार्फत योमन चन्दको स्मृतिलाई दीर्घकालसम्म जीवन्त राख्ने र प्रतिभाशाली विद्यार्थीलाई अवसर उपलब्ध गराउने लक्ष्यसहित फाउन्डेसनले विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने जानकारी दिनुभयो।
