
सल्यानको दार्मा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। “स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो। दार्मा गाउँपालिका स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा पूर्णखोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी राष्ट्रिय मापदण्ड र सूचकहरू पूरा भएपछि पालिका घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असवीर बुढाथोकीले खोप कार्यक्रम बालबालिकाको जीवन रक्षा तथा स्वस्थ भविष्यसँग जोडिएको महत्वपूर्ण अभियान भएकाले यसको दिगोपनाका लागि स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्य निरन्तर हुनुपर्ने बताउनुभयो। कार्यक्रममा दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसी, उपाध्यक्ष जुना मल्ल, जिल्ला खोप समन्वय समिति सल्यानका संयोजक ताराप्रसाद रिजाल तथा सामाजिक विकास संयोजक पुष्पाञ्जली मगरलगायतले पूर्णखोप सुनिश्चितता अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो। गाउँपालिकाअन्तर्गत रहेका तीन स्वास्थ्य चौकी, चार आधारभूत स्वास्थ्य सेवा केन्द्र, पाँच प्रसूति केन्द्र र एक सामुदायिक स्वास्थ्य इकाइमार्फत सञ्चालित १५ खोप केन्द्रबाट शून्यदेखि १५ महिनासम्मका ३६५ जना बालबालिकाले नियमित खोप सेवा प्राप्त गर्दै आएका छन्। गाउँपालिकाका ६ वटै वडामा यसअघि नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा सम्पन्न भइसकेको थियो। पालिकाभर खोप कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा ५४ जना स्वास्थ्यकर्मी र २७ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले सक्रिय भूमिका निर्वाह गरेका छन्। दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले गर्नुभएको थियो।
