कुमाख गाउँपालिकामा जुनोटिक रोगसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८३ जेष्ठ २५, सोमबार (१ महिना अघि)
  • १३० पटक पढिएको

कुमाख गाउँपालिकामा जुनोटिक रोगसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कुमाख गाउँपालिकामा पशुपंक्षीबाट मानिसमा सर्न सक्ने जुनोटिक रोगसम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकीको अध्यक्षतामा आयोजित कार्यक्रममा पशु, मानव र वातावरणीय स्वास्थ्यबीचको अन्तरसम्बन्ध तथा जुनोटिक रोगको जोखिम, रोकथाम र नियन्त्रणका उपायबारे व्यापक छलफल गरिएको थियो।
कार्यक्रममा पशुपंक्षी विकास शाखा प्रमुख डा. विष्णु के.सी.ले नेपालमा देखिने प्रमुख जुनोटिक रोगहरू रेबिज, बर्ड फ्लु, ब्रुसेलोसिस र लेप्टोस्पाइरोसिसलगायतका रोगबारे जानकारी गराउँदै संक्रमणको प्रक्रिया, जोखिम समूह र नियन्त्रणका उपायबारे प्रस्तुति दिनुभयो। उहाँले नियमित खोप, सुरक्षित पशुपालन, सरसफाइ तथा समयमै रोग पहिचान गर्न सके जनस्वास्थ्यमा पर्ने जोखिम न्यूनीकरण गर्न सकिने बताउनुभयो।
वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख जीवन शर्माले “जुनोटिक रोग र वातावरणीय सम्बन्ध” विषयमा कार्यपत्र प्रस्तुत गर्दै वातावरणीय असन्तुलन, जलवायु परिवर्तन, वन क्षेत्रको क्षय तथा वन्यजन्तुको आवासमा बढ्दो मानवीय हस्तक्षेपका कारण यस्ता रोगको जोखिम बढ्दै गएको उल्लेख गर्नुभयो। उहाँले वन संरक्षण र वातावरणीय सन्तुलनलाई रोग नियन्त्रणसँग प्रत्यक्ष रूपमा जोडेर हेर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
त्यस्तै स्वास्थ्य शाखा प्रमुख मानसिंह ओलीले जुनोटिक रोगले मानव स्वास्थ्यमा पार्ने असरबारे जानकारी दिँदै ग्रामीण क्षेत्रमा जनचेतनाको कमी, असुरक्षित पशुपालन अभ्यास र स्वास्थ्य सेवामा पहुँचको अभावका कारण जोखिम अझ बढ्ने बताउनुभयो। उहाँले व्यक्तिगत सरसफाइ, सुरक्षित पशु सम्पर्क र नियमित स्वास्थ्य परीक्षणलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो।


कार्यक्रममा अगुवा कृषक मेघराज शाहले किसानहरूको तर्फबाट धारणा राख्दै यस्ता सचेतनामूलक कार्यक्रम वडा तथा टोलस्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। पशुपालन तथा कृषिमा प्रत्यक्ष संलग्न किसानसम्म यस्ता जानकारी घरदैलोमै पुग्नुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लालबहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत भूपाल खड्का, वडा नं. ६ का वडा अध्यक्ष कर्णबहादुर विक, विभिन्न शाखाका प्रमुख, कर्मचारी, वडा सचिव तथा पालिकाभित्रका अगुवा कृषकहरूको सहभागिता रहेको थियो।
सहभागीहरूलाई ‘वन हेल्थ (One Health)’ अवधारणाबारे जानकारी गराउँदै पशु स्वास्थ्य, मानव स्वास्थ्य र वातावरणीय स्वास्थ्यलाई एकीकृत रूपमा बुझ्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो। साथै स्थानीय स्तरमा रोग निगरानी प्रणाली सुदृढ गर्ने, जनचेतना अभिवृद्धि गर्ने तथा सम्बन्धित निकायबीच समन्वय बढाउने विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रमले जुनोटिक रोगको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहमा एकीकृत प्रयास, जनचेतना विस्तार र बहुपक्षीय समन्वय अपरिहार्य रहेको सन्देश दिएको सहभागीहरूले बताएका छन्।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली