
सल्यानमा व्यावसायिक रूपमा गाईभैंसी पालन गर्ने किसानलाई प्रोत्साहन तथा उत्प्रेरित गर्ने उद्देश्यले पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले तीनदिने तालिम सम्पन्न गरेको छ।
कार्यालयले जिल्लाका १० वटा स्थानीय तहबाट छनोट गरिएका १८ जना किसानलाई व्यावसायिक गाईभैंसी पालन सम्बन्धी तालिम प्रदान गरेको हो। तालिममा आधुनिक पशुपालन प्रविधि, पोषण व्यवस्थापन, रोग नियन्त्रण, खोर व्यवस्थापन, प्रजनन सेवा तथा व्यवसायिक पशुपालनका विभिन्न पक्षबारे जानकारी दिइएको थियो।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका सूचना अधिकारी बिरेन्द्र केसीका अनुसार किसानहरूलाई परम्परागत पशुपालनबाट व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको हो। उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न सके किसानहरूको आयआर्जनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
तालिममा सहभागी किसानहरूले व्यवसायिक पशुपालनका नयाँ प्रविधि तथा व्यवस्थापन सम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त भएको बताएका छन्। उनीहरूले तालिमले पशुपालन व्यवसायलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
पशुजन्य उत्पादनको वृद्धि, किसानको आम्दानी अभिवृद्धि तथा आत्मनिर्भर पशुपालन प्रणालीको विकासका लागि यस्ता तालिमहरू प्रभावकारी हुने कार्यालयले जनाएको छ। तालिम समापन कार्यक्रममा सहभागी किसानहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।
जिल्लामा व्यवसायिक पशुपालनको सम्भावना बढ्दै गएको अवस्थामा यस्ता सीपमूलक तथा व्यवहारिक तालिमले किसानलाई व्यवसाय विस्तार गर्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।
