सल्यानका महिलाहरुलाई बाँसका सामग्री निर्माण तालिम

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८३ जेष्ठ २८, बिहिबार (१ महिना अघि)
  • ११० पटक पढिएको

सल्यानका महिलाहरुलाई बाँसका सामग्री निर्माण तालिम

सल्यानको शारदा नगरपालिका–१३ स्यानीखालका महिलालाई बाँसबाट घरायसी सामग्री निर्माण गर्ने तालिम प्रदान गरिएको छ। महिलाहरूलाई आयआर्जनसँग जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले १० दिने छिटनी निर्माण तालिम सञ्चालन गरिएको हो।
तालिममा सहभागी महिलाहरूले छोटो समयमै बाँसबाट घरायसी प्रयोजनका सामग्री निर्माण गर्ने सीप हासिल गरेका छन्। स्थानीय स्रोत र साधनको उपयोग गर्दै महिलालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले महिलाको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिम आवश्यक रहेको बताइन्। उनले महिलाहरू आर्थिक रूपमा सक्षम नभएकै कारण घरपरिवार र समाजमा विभिन्न प्रकारका विभेद तथा हिंसाको सामना गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै सीप र व्यवसायमार्फत आत्मनिर्भर बन्न आग्रह गरिन्।
त्यसैगरी वडा अध्यक्ष जंगबहादुर बुढाले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। पछिल्लो समय घरेलु उत्पादनको माग बढ्दै गएको भन्दै उनले तालिमलाई व्यवसायसँग जोडेर आम्दानीको स्रोत बनाउन सुझाव दिए।
तालिममा सहभागी लिला कँवरले सिकेको सीपलाई व्यवहारमा उतारेर बाँसका सामग्री उत्पादन तथा बिक्री–वितरण गर्ने योजना रहेको बताइन्। गाउँघरमा प्रायः पुरुषले गर्दै आएको बाँसजन्य सामग्री निर्माणको काम महिलाले पनि सफलतापूर्वक गर्न सक्ने अनुभव तालिमले दिलाएको उनको भनाइ छ। गाउँमै पर्याप्त बाँस उपलब्ध भएकाले तालिमपछि व्यवसाय सञ्चालन गर्ने सोच बनाएको उनले बताइन्।
स्थानीय स्रोतको उपयोग, सीप विकास र महिला सशक्तीकरणलाई जोड्दै सञ्चालन गरिएको यस्ता तालिमले ग्रामीण महिलाको आर्थिक अवस्था सुधार्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली