
स्थानीय तहका विवादहरूलाई समुदायभित्रै संवाद र सहमतिका माध्यमबाट समाधान गर्दै न्यायलाई सहज, छिटो र कम खर्चिलो बनाउने उद्देश्यसहित कालिमाटी गाउँपालिकामा आठ दिवसीय आधारभूत मेलमिलापकर्ता तालिम सुरु गरिएको छ । तालिम उद्घाटन कार्यक्रमका वक्ताहरूले मेलमिलापकर्ताको सक्रियतामा स्थानीय न्यायिक प्रणालीलाई प्रभावकारी, विश्वसनीय र जनमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरेका छन् । कालिमाटी गाउँपालिकाको आयोजनामा बिहीबारदेखि सुरु भएको आठ दिवसीय ४८ घण्टे तालिममा वडास्तरबाट छनोट भएका मेलमिलापकर्ताहरू सहभागी छन् । मेलमिलाप परिषद्बाट स्वीकृत पाठ्यक्रमअनुसार सञ्चालन भइरहेको तालिमले स्थानीयस्तरका विवादहरू अदालत वा अन्य निकायसम्म पुग्नुअघि नै सहमतिपूर्ण ढंगले समाधान गर्न सक्षम जनशक्ति तयार गर्ने अपेक्षा गरिएको छ ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दान बहादुर केसीले स्थानीय तहमा उत्पन्न हुने सामान्य प्रकृतिका विवादहरू समुदायमै समाधान हुन सके न्यायमा नागरिकको पहुँच अझ सहज हुने बताएउनु भयो । विवाद समाधानका लागि अनावश्यक झन्झट, समय र आर्थिक भार कम गर्न मेलमिलापकर्ताहरूको भूमिका प्रभावकारी रहने उनको भनाई थियो ।
गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सनसिलता वली डिसीले मेलमिलापलाई दुवै पक्षलाई स्वीकार्य हुने समाधानको माध्यमका रूपमा व्याख्या गर्दै यसले सामाजिक सम्बन्धलाई कायम राख्दै विवाद समाधान गर्ने अवसर प्रदान गर्ने बताउनु भयो । उहाँले न्यायिक समितिको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन दक्ष मेलमिलापकर्ताको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
तालिममा सहभागीहरूलाई द्वन्द्व व्यवस्थापन, प्रभावकारी सञ्चार, कानुनी व्यवस्था, मेलमिलाप प्रक्रिया तथा व्यवहारिक अभ्यास सम्बन्धी विषयमा प्रशिक्षण प्रदान भइरहेको छ । प्रशिक्षक डा। रामबृक्ष मण्डल र हरिबाबु श्रेष्ठले मेलमिलाप परिषद्को आधिकारिक पाठ्यक्रममा आधारित कक्षा सञ्चालन गरिरहनुभएको छ । प्रशिक्षक डा। मण्डलले तालिम सफलतापूर्वक सम्पन्न गरेपछि सहभागीहरूले प्राप्त गर्ने प्रमाणपत्रको कानुनी महत्व रहने जानकारी दिनुभयो । उहाँका अनुसार सूचीकृत मेलमिलापकर्ताले गराएको मिलापत्रलाई कानुनी मान्यता प्राप्त हुने भएकाले स्थानीय न्यायिक प्रणालीलाई थप विश्वसनीय र प्रभावकारी बनाउन तालिम उपयोगी हुनेछ ।
आठ दिनसम्म सञ्चालन हुने तालिममा सैद्धान्तिक ज्ञानसँगै विभिन्न प्रकारका विवादमा तटस्थ रहँदै संवाद सहजीकरण गर्ने अभ्यास समेत गराइनेछ । यसबाट वडा तहमा सञ्चालन हुने मेलमिलाप केन्द्रहरूलाई सक्रिय र परिणाममुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गाउँपालिकाको आयोजना, जुनकिरी नेपालको सहजीकरण तथा एसटी इन्टरटेनमेन्ट प्रालिको व्यवस्थापनमा सञ्चालन भइरहेको तालिम उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हर्क बहादुर वली, वडाध्यक्षहरू, न्यायिक समितिका सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
