उपल्लो कर्णालीको खत्याडमा बृहत् टिमुर खेती हुँदै

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८३ जेष्ठ २९, शुक्रबार (१ महिना अघि)
  • ९९ पटक पढिएको

उपल्लो कर्णालीको खत्याडमा बृहत् टिमुर खेती हुँदै

उपल्लो कर्णाली क्षेत्रको खत्याड गाउँपालिकाले आर्थिक वर्षभित्रै ५० हजार टिमुरका बिरुवा रोप्ने महत्वाकांक्षी अभियान सुरु गरेको छ। स्थानीय सहकारी संस्था तथा अगुवा कृषकहरूको सहभागितामा सञ्चालन गरिएको यस कार्यक्रमले खत्याडलाई टिमुर उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रम अन्तर्गत टिमुर खेतीको प्राविधिक ज्ञान अभिवृद्धिका लागि कृषक तथा सहकारीकर्मीहरूलाई तालिम प्रदान गरिएको छ। तालिमका मुख्य प्रशिक्षक डा। मित्र पाठक, प्रमुख, वनस्पति अनुसन्धान केन्द्र सल्यान रहनुभएको थियो। उहाँले टिमुरको व्यावसायिक खेती, बिरुवा व्यवस्थापन, रोपण प्रविधि, संरक्षण तथा बजार सम्भावनाका विषयमा प्रशिक्षण दिनुभएको थियो।
गाउँपालिकाले टिमुर खेतीलाई प्रोत्साहन गर्न आकर्षक अनुदान कार्यक्रमसमेत ल्याएको छ। गाउँपालिकाका अनुसार किसानले रोपेको र हुर्काएको प्रत्येक टिमुरको बिरुवाका लागि रु। ५० का दरले प्रोत्साहन अनुदान उपलब्ध गराइनेछ। त्यसैगरी खाल्डो खन्ने तथा जैविक मल व्यवस्थापनका लागि प्रति बिरुवा रु। १९० तत्काल उपलब्ध गराउने व्यवस्था गरिएको छ।गाउँपालिका अध्यक्ष अजबहादुर शाही ले खत्याडको भौगोलिक तथा जलवायुगत अवस्थाले टिमुर खेतीका लागि अत्यन्त उपयुक्त वातावरण प्रदान गर्ने बताउनुभयो। उहाँले नगदेबालीका रूपमा टिमुरको विस्तारले स्थानीय कृषकको आयआर्जन वृद्धि हुनुका साथै वनमा आधारित जीविकोपार्जनलाई समेत सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।कृषि शाखा प्रमुख विजय ओली का अनुसार कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिएको छ। सहकारी संस्था, कृषक समूह तथा अगुवा कृषकहरूको सक्रिय सहभागितामा चालु आर्थिक वर्षभित्र ५० हजार बिरुवा रोप्ने लक्ष्य प्राप्त हुने उहाँको भनाइ छ।
हाल नेपालमा टिमुर उच्च मूल्यमा बिक्री हुने बहुउपयोगी औषधीय तथा मसला वनस्पतिको रूपमा परिचित छ। यसको फल, बोक्रा र बीउ औषधीय प्रयोजनका साथै मसला उद्योगमा समेत प्रयोग हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको माग बढ्दो छ।
खत्याड गाउँपालिकाले थालेको यो अभियान सफल भएमा आगामी वर्षहरूमा स्थानीय कृषकको आम्दानी वृद्धि, बाँझो जमिनको सदुपयोग तथा जडीबुटीमा आधारित ग्रामीण अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली