
आर्थिक वर्षको ११ महिनासम्म आइपुग्दा सल्यानका प्रदेश अन्तर्गत सरकारी कार्यालयहरूको पूँजीगत खर्चको अवस्था कमजोर देखिएको छ।
प्रदेश लेखा इकाई कार्यालय सल्यानका अनुसार जिल्लाका प्रदेश कार्यालयका लागि पूँजीगत खर्चतर्फ रु। १ अर्ब ४३ करोड ९० लाख ४९ हजार बजेट विनियोजन गरिएकोमा हालसम्म रु। ४४ करोड १३ लाख ८८ हजार ५ सय ३४ अर्थात् ३१ प्रतिशत मात्रै खर्च भएको छ।
चालुतर्फको खर्च भने तुलनात्मक रूपमा सन्तोषजनक देखिएको छ। चालुतर्फ प्राप्त रु। ९१ करोड १९ लाख ९६ हजार ९ सय ९० बजेटमध्ये हालसम्म रु। ४७ करोड २१ लाख ३३ हजार ८६ खर्च भएको छ, जुन कुल बजेटको ५२ प्रतिशत हो।
जिल्लामा चालु र पुँजीगत गरी कुल रु। २ अर्ब ३५ करोड १० लाख ४५ हजार ९ सय ९० बजेट प्राप्त भएकोमा हालसम्म रु। ९१ करोड ३५ लाख २१ हजार ६ सय २१ अर्थात् ३९ प्रतिशत मात्रै खर्च भएको प्रदेश लेखा इकाई कार्यालयले जनाएको छ।
तथ्यांक अनुसार केही कार्यालयले पूँजीगत बजेट खर्चमा उल्लेखनीय प्रगति गरे पनि कतिपय कार्यालयले भने हालसम्म पुँजीगत बजेट खर्च नै गर्न सकेका छैनन्। आर्थिक वर्ष सकिन करिब एक महिना मात्र बाँकी रहँदा विकास बजेट खर्च ३१ प्रतिशतमा सीमित हुनु विकास आयोजना कार्यान्वयनको गति सुस्त रहेको संकेतका रूपमा हेरिएको छ।
समयमै ठेक्का प्रक्रिया सम्पन्न नहुनु, योजना कार्यान्वयनमा ढिलाइ हुनु तथा भुक्तानी व्यवस्थापनमा देखिएका समस्याका कारण विकास निर्माणका काम प्रभावित भएको सरोकारवालाहरूको भनाइ छ।
आर्थिक वर्षको अन्त्य नजिकिँदै जाँदा विकास बजेट खर्चको अवस्था सुधार्न सम्बन्धित कार्यालयहरूलाई योजना कार्यान्वयन र भुक्तानी प्रक्रियालाई तीव्र बनाउनुपर्ने चुनौती देखिएको छ।
