
सल्यानमा लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय, विभिन्न सरकारी कार्यालय, सुरक्षा निकाय, संघसंस्था र सरोकारवालाको समन्वयमा साताव्यापी कार्यक्रम सञ्चालन गरिएको हो।
दिवसको अवसरमा सदरमुकाम खलंगामा प्रभातफेरी तथा जनचेतनामूलक र्याली आयोजना गरिएको थियो। कार्यक्रममा सहभागीहरूले लागू औषध दुरुपयोग न्यूनीकरण, अवैध ओसारपसार नियन्त्रण तथा युवापुस्तालाई कुलतबाट जोगाउन सचेतनामूलक सन्देश दिएका थिए।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले पछिल्लो समय लागू औषध दुरुपयोग चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो। उहाँले औषधिको दुरुपयोगसमेत लागू औषधको एउटा प्रमुख स्रोतका रूपमा देखिन थालेको उल्लेख गर्दै औषधिको बिक्री–वितरणदेखि प्रयोगसम्म सबै पक्ष जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिनुभयो। लागू औषधको समस्या स्वास्थ्यमा मात्र सीमित नभई परिवार, समाज र समग्र राष्ट्रका लागि गम्भीर चुनौती बन्दै गएको उहाँको भनाइ थियो।
प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले लागू औषध प्रयोगले व्यक्तिको भविष्य मात्र नभई परिवार र समाजमा समेत गम्भीर असर पार्ने भएकाले यसको रोकथामका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले घर, विद्यालय, समुदाय तथा सार्वजनिक स्थानमा निरन्तर सचेतनामूलक अभियान सञ्चालन गर्दै विशेषगरी किशोरकिशोरी र युवालाई यसबाट टाढा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
औषधि व्यवसायी घनश्याम अधिकारीले पहिले सहरी क्षेत्रमा सीमित देखिएको लागू औषधको समस्या अहिले गाउँगाउँसम्म फैलिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँले पछिल्लो समय लागू औषध प्रयोगकर्ताको संख्या बढ्दै गएकाले औषधि व्यवसायी, अभिभावक, शिक्षक, स्थानीय तह तथा समुदाय सबैले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो।
सप्ताहव्यापी अभियानअन्तर्गत विद्यालय तथा समुदायमा जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, सचेतनामूलक सन्देश प्रवाह, प्रचारप्रसारलगायत विभिन्न कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सरोकारवालाले लागू औषध दुरुपयोग नियन्त्रणका लागि कानुनी कारबाहीसँगै निरन्तर जनचेतना, परिवारको निगरानी र समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिएका छन्।
