
सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा सल्यानमा पछिल्लो पाँच वर्षमा तीन जनाले ज्यान गुमाएका छन ्। अवैध रूपमा राखिएका भरुवा बन्दुकका कारण मानवीय क्षतिको जोखिम बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार पाँच वर्षको अवधिमा अवैध रूपमा राखिएका ९८ थान भरुवा बन्दुक बरामद भएका छन ्। यही अवधिमा सिकार तथा भरुवा बन्दुक प्रयोगसँग सम्बन्धित घटनामा १० जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरीका कार्यालय सल्यानका प्रहरी प्रमुख दिपक पातलीका अनुसार सबैभन्दा धेरै भरुवा बन्दुक आर्थिक वर्ष २०८२÷८३ मा बरामद भएका छन् । उक्त वर्ष मात्रै ८७ थान भरुवा बन्दुक बरामद गरिएको थियो । तीमध्ये अधिकांश बेवारिसे अवस्थामा फेला परेका थिए । सोही आर्थिक वर्षमा अवैध हातहतियारसहित दुई जना पक्राउ परेका थिए ।
आर्थिक वर्ष २०८१÷८२ मा भने अवैध हातहतियार बरामद नभएको प्रहरीको तथ्यांक छ । चालु आर्थिक वर्षमा पनि भरुवा बन्दुकको जोखिम कायमै देखिएको छ । हालसम्म नौ थान बेवारिसे भरुवा बन्दुक र दुई थान अवैध भरुवा बन्दुकसहित आठ जना पक्राउ परेका छन ्। यही अवधिमा गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भरुवा बन्दुकका कारण हुने दुर्घटना नयाँ भने होइन । आर्थिक वर्ष २०७९÷८० मा वनगाड कुपिण्डे नगरपालिका–२ मा सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०÷८१ मा कालिमाटी गाउँपालिकामा सिकार खेल्न प्रयोग हुने भरुवा बन्दुक खेलाउने क्रममा एक बालिकाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
डिएसपी पातलीका अनुसार कतिपयले परम्परागत रूपमा सिकारका लागि भरुवा बन्दुक राख्ने गरे पनि अनुमति र कानुनी प्रक्रिया पूरा नगरी यस्ता हतियार राख्नु जोखिमपूर्ण छ । बन्दुक चलाउने क्रममा सामान्य असावधानीले समेत ज्यान जाने भएकाले अवैध हातहतियार नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको जनाएको छ ।
पाँच वर्षमा ९८ थान भरुवा बन्दुक बरामद हुनु र तीन जनाको ज्यान जानुले सल्यानका ग्रामीण क्षेत्रमा अझै पनि अवैध हतियारको पहुँच रहेको देखाएको उहाँले बताउनु भयो । सिकारका लागि राखिएका यस्ता हतियार कहिलेकाहीँ सिकार गर्ने व्यक्तिकै लागि घातक बन्ने गरेका छन् भने अन्य व्यक्तिसमेत यसको जोखिममा पर्ने गरेका छन ्।
