
नेपाल निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष मानव वमले निर्माण व्यवसायी परिपक्व नभएसम्म राज्य परिपक्व हुन नसक्ने बताएका छन् । निर्माण क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन व्यवसायीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिँदै उनले निर्माण व्यवसायीको मनोबल बढाउने गरी सरकारले पछिल्लो समय गरेका नीतिगत सुधारले केही आशा जगाएको बताए ।
निर्माण व्यवसायी संघ सल्यानको २२ औं साधारणसभा तथा १० औं अधिवेशनको उद्घाटन सत्रमा बोल्दै वमले निर्माण व्यवसायीले विभिन्न समस्या भोगिरहेको अवस्थामा सरकारले कानुनी तथा नीतिगत सुधारमार्फत व्यवसायीका माग सम्बोधन गर्ने प्रयास गरेको बताए । पुराना ठेक्काको म्याद सकिएका कारण काम र भुक्तानीमा समस्या देखिँदा व्यवसायी धरापमा पर्ने अवस्था आएको उनको भनाइ थियो ।
‘हाम्रा पुराना ठेक्काको म्याद सकिएको थियो । कतिपय ठाउँमा म्याद सकिएकै कारण भुक्तानी हुन सकेको थिएन,’ उनले भने, ‘यो समस्या समाधानका लागि निर्माण व्यवसायीले निरन्तर पहल गरिरहेका थियौं । अहिले सरकारले हाम्रा माग सुनेको छ, जसले केही आशा जगाएको छ ।’
निर्माण व्यवसायीलाई चलायमान बनाउन प्राविधिक तथा कानुनी सल्लाहकारको व्यवस्था हुनु सकारात्मक भएको उनले बताए । साना तथा ठूला निर्माण व्यवसायीका समस्या र हकहित सम्बोधन गर्न ऐन संशोधनलगायतका पहल भएकाले अब व्यवसायी एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । सरकारले नीतिगत सुधार गर्दैमा सबै समस्या समाधान नहुने उल्लेख गर्दै उनले व्यवसायीले पनि आफ्नो बानीव्यवहार सुधार गरी विकास निर्माणका कामलाई प्राथमिकता दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका पूर्वकेन्द्रीय सदस्य बालाजु श्रेष्ठले निर्माण व्यवसायीका साझा समस्या समाधान गर्न संस्थागत एकता बलियो बनाउनुपर्ने बताए । महासंघका केन्द्रीय सदस्य डिल्लीप्रकाश केसीले निर्माण क्षेत्रलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन व्यवसायीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए ।
नेपाल निर्माण व्यवसायी संघ प्युठानका अध्यक्ष नवीन श्रेष्ठले व्यवसायीबीचको एकता र सहकार्यले मात्र साझा समस्या समाधान गर्न सकिने बताए । व्यवसायीहरू विभाजित हुनुभन्दा एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले अनुभव आदानप्रदानले निर्माण क्षेत्रको विकासमा योगदान पु¥याउने बताए ।
महासंघका प्रदेश सल्लाहकार प्रमोद श्रेष्ठले निर्माण व्यवसायीको पेसागत सुरक्षा र अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताए । महासंघका प्रदेश वरिष्ठ उपाध्यक्ष प्रदीप खड्काले गुणस्तरीय निर्माणलाई प्राथमिकता दिन व्यवसायीलाई आग्रह गर्दै सरकारले पछिल्लो समय गरेका नीतिगत सुधारले निर्माण क्षेत्रका समस्या सम्बोधन गर्न सहयोग पुगेको बताए ।
महासंघका कोषाध्यक्ष मनोजकुमार सिंहले संस्थालाई आर्थिक रूपमा पारदर्शी र व्यवस्थित बनाउँदै व्यवसायीका साझा मुद्दामा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । निर्माण व्यवसायी संघ सल्यानका पूर्वअध्यक्ष सहदेव थापाले संघको संस्थागत विकास र व्यवसायीको हकहित संरक्षणका लागि विगतका अनुभवबाट सिक्दै अघि बढ्नुपर्ने धारणा राखे ।
निर्माण व्यवसायी संघ सल्यानका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष डम्बर सिंह तिरुवाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार सरिता चलाउनेले गरेकी थिइन् ।
