सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८३ कार्तिक ६, बिहिबार (२ हप्ता अघि)
  • १५४ पटक पढिएको

सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो

सल्यानमा स्क्रब टाइफसबाट थप एक जनाको मृत्यु भएको छ। दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। यससँगै जिल्लामा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये सबैभन्दा बढी दार्मा गाउँपालिकाका २८१ जना छन्। बागचौर नगरपालिकामा २४७, कुमाख गाउँपालिकामा ८२, कपुरकोट गाउँपालिकामा ६९, जिल्ला अस्पताल सल्यानमा ६६ र छत्रेश्वरी गाउँपालिकामा ५१ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, बन्गाड कुपिण्डे नगरपालिकामा ११, त्रिवेणी गाउँपालिकामा ६, सिद्धकुमाख गाउँपालिकामा ३ र कालिमाटी गाउँपालिकामा २ जनामा संक्रमण देखिएको छ। दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार मल्लमा असोज २८ गते गरिएको परीक्षणमा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो। जिल्ला अस्पतालबाट घर फर्किएका उनलाई पछि श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि घोराही हुँदै नेपालगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको बस्नेतले बताउनु भयो ।
वर्षायाममा बढी देखिने स्क्रब टाइफसको संक्रमण पछिल्लो समय घटे पनि जोखिम कायमै रहेको स्वास्थ्यकर्मीले बताएका छन्। संक्रमितको संख्या बढ्दै जाँदा यसको रोकथाम र नियन्त्रणमा सावधानी अपनाउनुपर्ने उनीहरूको भनाइ छ।
स्क्रब टाइफसबाट बच्न घाँसदाउरा गर्दा शरीर ढाक्ने कपडा र बुट लगाउन, पञ्जा प्रयोग गर्न तथा घरवरपरका झाडी सफा राख्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। ज्वरो आउने, टाउको दुख्ने तथा श्वासप्रश्वासमा समस्या देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण र उपचार गराउन उनीहरूको सुझाव छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली