
कोजाग्रत पूर्णिमाको अवसरमा पाँच दिनसम्म लागेको कुमाख मेलापछि मेला स्थलमा जम्मा भएको फोहोर सरसफाइ गरिएको छ। कुमाख गाउँपालिकाका कर्मचारी, स्थानीय बासिन्दा, अस्थायी प्रहरी चौकी चौरपानीका प्रहरी, मेला व्यवस्थापन समिति लगायतको सहभागितामा सरसफाइ गरिएको हो।
कुमाख गाउँपालिकाको वातावरण तथा विपद् शाखाका प्रमुख जीवन शर्माका अनुसार धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको कुमाख मेला स्थललाई स्वच्छ, सुन्दर र वातावरणमैत्री बनाउने उद्देश्यले सरसफाइ अभियान सञ्चालन गरिएको हो।
मेलाका क्रममा जम्मा हुने फोहोर व्यवस्थापन गर्नुका साथै धार्मिक तथा पर्यटकीय स्थलको स्वच्छता कायम राख्न गत वर्षदेखि सरसफाइ अभियान सञ्चालन हुँदै आएको शर्माले बताए। यस वर्ष पनि अभियानलाई निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो ।
सरसफाइ अभियानले मेला स्थल सफा राख्नुका साथै वातावरण संरक्षण, सार्वजनिक सम्पत्तिको जगेर्ना र स्थानीय बासिन्दामा वातावरणीय सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसैबीच, वातावरण संरक्षण तथा सरसफाइमा योगदान पु¥याउने व्यक्तिहरूलाई ‘कुमाख इको हिरोज अवार्ड–२०८३’ प्रदान गरी सम्मान गरिएको छ । सम्मानित हुनेमा विपद् शाखाका प्रमुख जीवन शर्मा, स्थानीय महेश बुढाथोकी र अर्जुन बुढाथोकी पनि छन । उनीहरूलाई वातावरण संरक्षण तथा सरसफाइ अभियानमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
कुमाख मेला धार्मिक आस्था, सांस्कृतिक पहिचान र पर्यटनसँग जोडिएको महत्त्वपूर्ण स्थल भएकाले यसको संरक्षणमा स्थानीय समुदाय, युवा, मेला व्यवस्थापन समिति र सरोकारवाला निकायको साझा प्रयास आवश्यक रहेको सरसफाइ अभियानमा संलग्नहरूले बताएका छन ्।
मेला तथा अन्य सार्वजनिक कार्यक्रममा सहभागी हुँदा फोहोर जथाभावी नफाल्ने, फूल तथा वनस्पतिको संरक्षण गर्ने र सार्वजनिक स्थलको स्वच्छता कायम राख्ने बानी विकास गर्न सके धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
