
सल्यानको दार्मागाउँपालिका ३ दोभान खोलामा मृत फेला परेका दार्मा गाउँपालिका–४ गलाँतका २५ वर्षीय भुवन चन्दको मृत्यु प्रकरणमा परिवारले सात जनाविरुद्ध किटानी जाहेरी दिएको छ। शुक्रबार साँझ परेको वर्षाका कारण खोलाले बगाएर चन्दको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका थियो। तर परिवार तथा स्थानीयले घटना शंकास्पद रहेको भन्दै उनको मृत्यु दुर्घटना नभई हत्या भएको दाबी गरेका छन्। उनीहरूले आइतबार प्रहरी कार्यालयमा जाहेरि दिएका हुन । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै परिवारले जिल्ला प्रहरी कार्यालय सल्यानमा सात जनाविरुद्ध किटानी जाहेरी दिएका हुन । शनिबार बिहान दार्मा गाउँपालिका–३ फारुला बजार नजिकै दोभान खोलामा चन्दको शव कोल्टे परेको अवस्थामा फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी दिपक पातलीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। परिवारले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। परिवारले हत्या भएको आशंका गरेका छन ।
