
कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा स्तरउन्नति हुँदै गरेको चाखलीघाट–कुमाख–त्रिवेणी सडक निर्माणमा कमसल खालको सामाग्री प्रयोग भएको पाइएको छ । निर्माण व्यवसायीले कमसल खालको सामग्री प्रयोग गर्न खोजेको भन्दै स्थानीयबाट गुनासो आएपछि गरिएको स्थलगत अनुगमनमा कमजोरी पुष्टि भएको हो ।

कर्णाली प्रदेश सांसद भिमप्रकाश शर्मा, पूर्वाधार विकास कार्यालय सल्यानका इन्जिनियर भरत शर्माको नेतृत्वमा, सिद्धकुमाख गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष मेघराज बुढाथोकी र वडा नं. १ का वडा सदस्य कालीबहादुरसहितको टोली निर्माणस्थलमा पुगेर अनुगमन गरेको हो । अनुगमनका क्रममा प्रयोगका लागि थुपारिएको बालुवा गुणस्तरहीन रहेको पाइएको सांसद भिमप्रकाश शर्माले बताउनु भयो । उहाँका अनुसार कमसल खालको सामाग्री भएको पाइएपछि अनुगमनमा गरिएको हो ।यस्ता गल्ती आगामी दिनमा नदोहोर्याउन सांसद शर्माले आग्रह गर्नुभयो ।

इन्जिनियर भरत शर्माले तत्काल उक्त कमसल सामग्री हटाउन र गुणस्तरीय बालुवा प्रयोग गरी कामलाई तीव्रता दिन कडा निर्देशन दिनुभएको छ । स्थानीय स्तरमै विकास आयोजनामा यस्तो लापरबाही भेटिनु गम्भीर विषय भएको भन्दै सरोकारवालाहरूले चासो व्यक्त गरेका छन् । अन्य निर्माण कार्य भने सन्तोषजनक रहेको अनुगमन टोलीले जनाएको छ । साथै, समयमै गुनासो उठाएर काममा सुधार ल्याउन भूमिका खेलेका नागरिकलाई धन्यवाद दिइएको छ ।
