
नेपाली सेनाको श्री सिद्धिबक्स गण, सिमखर्क ब्यारेकमा सञ्चालन भएको बाहिनीपति ट्रफी–२०८३ अन्तर्गतको अन्तरगण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । श्री नं. १९ बाहिनीको आयोजनामा वैशाख ६ गतेदेखि भएको प्रतियोगितामा श्री चण्डी दल गण, श्री बर्द बहादुर गण, श्री सिद्धिबक्स गण, श्री ज्वालादल गण र श्री सुर्यदल गणको सहभागिता रहेको थियो ।
आज सम्पन्न फाइनल खेलमा श्री चण्डी दल गण र श्री बर्द बहादुर गणबीच कडा प्रतिस्पर्धा देखिएको थियो। पाँच सेटसम्म चलेको रोमाञ्चक खेलमा चण्डी दल गणले ३–२ को सेटमा (१०–२५, २५–२२, २५–१३, २३–२५ र १५–१२) जित निकाल्दै उपाधि कब्जा गरेको हो । प्रतियोगितामा बर्द बहादुर गण दोस्रो, आयोजक सिद्धिबक्स गण तेस्रो, ज्वालादल गण चौथो र सुर्यदल गण पाँचौं स्थानमा रहे । प्रतियोगिताका विजेतालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको हो।

समापन समारोहमा प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटा, सशस्त्र प्रहरी बल गुल्म सल्यानका प्रमुख भरतबहादुर कँवर, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
नेपाली सेना सिद्धिबक्स गणका निमित्त गणपति दिनेश न्यौपानेले यस्ता खेलकुद गतिविधिले सैनिकहरूबीच आपसी समन्वय, अनुशासन, नेतृत्व क्षमता तथा शारीरिक सुदृढता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

